सम्बन्धलाई समृद्धिमा ढाल्न विश्वासको वातावरण अनिवार्य

समाचार

8/12/2019

काठमाडौं, २७ साउन । भारतीय विज्ञहरुले नेपाल र भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई समृद्धिमा ढाल्न विश्वासको वातावरण अनिवार्य रहेको बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भारतीय प्राध्यापकहरु भी.के. मलहोत्रा र राजेश खरातले विश्वासको वातावरण बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।

इन्डियन काउन्सिल अफ सोसियल साइन्स रिसर्चका सदस्य सचिवसमेत रहेका प्राध्यापक भी. के. मलहोत्राले नेपाल र भारत मिलेर अगाडि बढ्न सके दुई देशले आर्थिक र सामाजिक क्षेत्रमा फड्को मार्ने बताए ।

मलहोत्राले गरिबी निवारणमा नेपाल र भारतले मिलेर जान सक्ने विषयबारे तथ्य र तथ्यांकसहित व्याख्या गरेका थिए । नेपालबाट भारतले र भारतबाट नेपालले सिक्ने र सहयोग लिनसक्ने विषयहरु रहेको बताए ।

नेपालमा कृषि, पर्यटन, जलस्रोतलगायतको सही सदुपयोग गर्न सके यस क्षेत्रकै भविष्य उज्ववल हुने बताए । आध्यात्मिक चिन्तनलाई महत्व दिदै त्यसले आपसी विश्वास र मेलमिलापको भावना जगाउने तर्क गरे ।

जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक राजेश खरातले नेपाल र भारतबीच विश्वासलाई अझ बलियो बनाउनुपर्ने बताए ।

विगतमा विश्वासमा आशंका पैदा भएको इंकित गर्दै त्यस्तो अवस्था आउन दिन नहुने बताए । भारत र नेपालबीच शिक्षा, स्वास्थ्य, कृषि, जडिबुटीलगायतका क्षेत्रमा अझ समन्वय र सहकार्य गरी अगाडि बढ्ने सम्भावना भएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ