भैरहवा, १३ मंसिर । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्योगी व्यवसायीले समस्या भन्दा पनि आजसम्म भएका उपलब्धीको बारेमा पनि कुरा उठाउनुपर्ने बताएका छन् ।
उनले अहिलेसम्म प्राप्त भएको उपलब्धीहरुको व्याख्या गरी त्यसको जगमा उभिएर कमीकमजोरीलाई सच्याउनुपर्ने बताए ।
उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाण्डौको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा जारी लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृृषि महोत्सव –२०७६ अन्तर्गत बिहीबार मेला सचिवालयमा भएको उद्योग, पर्यटन प्रबद्र्धन सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले समस्या मात्र राखे त्यसले नकारात्मक वातावरण सिर्जना हुने बताए ।
उनले भने, “उद्योग व्यवसाय सम्बन्धि प्रदेश सरकारले बनाएको ऐन कानून अध्ययन गर्न म आग्रह गर्दछु, कानून आफ्नो अनुकुल र हितमा बनाउने हो, सबैले एकनास भएर परिमार्जित भएर अगाडी बढौं भन्ने अर्थमा हामीलाई कानून चाहिएको हो, नदीजन्य पदार्थलाई उपयोग गर्ने सन्दर्भमा बनाइएको कार्यविधिमा सुझाव आएपछि त्यसलाई सच्याउँदैछौं ।”
उनले ऐन कानूनमा भएका बाधा अड्चनलाई सच्याउन सरकार तयार भएको बताए । मन्त्री गिरीले भन्सार सम्बन्धि रहेको समस्या समाधान गर्ने कुरामा आफ्नो सहमति रहेको बताए ।
“भारतीय बजारमा सामान सस्तो छ भन्दैमा त्यहाँ पुगेर किन्ने प्रवृत्ति रोक्नुपर्ने उनले बताए । थोरै दुःख गरेर भए पनि मुलुकको अर्थतन्त्रलाई माथि उठाउनपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया