काठमाडौं, २० मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका सहअध्यक्ष लक्ष्मण लाल कर्णले नेपाल–भारतबीच देखिएको सीमा विवादलाई कुटनीतिक सम्वादबाट नै समाधान गर्नुपर्नेमा आफूहरु स्पष्ट रहेको बताएका छन् ।
भारतसँगको सीमा विवादमा मधेशकेन्द्रित दलहरु बोल्दैन भन्ने आरोपको खण्डन गर्दै उनले आफूहरुमाथि पहिलादेखि नै भारतीय, भारतीय एजेन्ट लगायतका आरोपहरु लाग्दै आएको गुनासो गरे ।
मधेशवाणी रेडियो कार्यक्रमको एक अन्तर्वार्तामा सहअध्यक्ष कर्णले भने, ‘हाम्रा अध्यक्षमण्डलका नेताहरुले सर्वदलीय बैठकमै भन्नुभएको छ कि यदि नेपाली भूमि मिचिएको छ भने त्यसको समाधान कुटनीतिक पहल गर्नुपर्छ । अहिले सरकारले पनि त्यहीं गरिरहेको छ । कुटनीतिक पहलका लागि गृहकार्य गर्दैछ । अनि हामी कसरी बोलिरहेका छैनौं ?’
‘हामी उच्छृंखल भएका छैनौं, दूतावास घेर्न गएका छैनौं, सडकमा नाचिरहेका छैनौं । उच्छुंखल भएर वा नारा जुलुस लगाएर सीमा विवाद समस्या समाधान हुँदैन ।’ उनले भने, ‘यसको कुटनीतिज्ञ वार्ताबाटै समाधान निकाल्नुपर्छ भन्ने हाम्रो प्रष्ट धारणा त रहँदै आएको छ ।’
उनले सीमा विवाद देखिँदा पनि नेपाल–भारत सम्बन्धमा यसले कुनै असर नगरेको दाबी गरेका छन् । चीनले पनि नेपालको सीमा मिचेको छ भन्ने आइरहेको उनले जिकिर गरे ।
तपाईको प्रतिक्रिया