राजविराज, १३ पुस । विभिन्न क्षेत्रमा योगदान पु¥याउने मधेशका एक सय जनालाई ‘मधेश नायक’ (हिरोज अफ मधेश) अवार्डबाट सम्मानित गरिने भएको छ ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवम् मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको राजविराज–३ स्थित समाधि स्थलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी आयोजक मधेशी पत्रकार समाजका केन्द्रीय अध्यक्ष मोहन सिंहले सो घोषणा गरेका हुन् ।
अवार्डका लागि कार्यक्रममा सहभागी हुन पुस मसान्तसम्मका लागि समयसीमा तय गरिएको जानकारी दिँदै कार्यक्रम संयोजकसमेत रहेका अध्यक्ष सिंहले ईच्छुकहरुलाई समयसीमाभित्र आवेदन दिन आह्वान गरे ।
विदेशमा रहेर मधेश र राष्ट्रका लागि योगदान पु¥याउने व्यक्तित्वहरु समेत अवार्डका लागि आवेदन गर्न पाउने व्यवस्था मिलाएको उनले बताए ।
भाषा, साहित्य, शिक्षा, स्वास्थ्य, खेलकुद, पत्रकारिता, समाजसेवा लगायतका १० विधामा अवार्ड प्रदान गरिने जानकारी दिए । उनले चयन प्रकृया सम्बद्ध क्षेत्रका विज्ञहरुको मूल्यांकन समितिद्वारा आवश्यक मापदण्ड तयार गरी गरिने बताए ।
उनले मधेशको अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका नेता सिंहको राजनीतिक योगदानको सम्झना गर्दै उनकै समाधि स्थलमा आएर कार्यक्रमको घोषणा गरेको बताए ।
अवार्डका लागि आवेदकहरुबाट प्राप्त डकुमेन्ट, स्थलगत अध्ययन तथा सर्वसाधारणबाट भोटिङ्ग लगायतका प्रकृयाको आधारमा अवार्ड विजेताको चयन गरिने उनको भनाई छ ।
माघ अन्तिम साता अवार्ड विजेताहरुको नाम सार्वजनिक गरी एक भव्य समारोहबीच सम्मान गर्ने कार्यक्रम तय भएको अध्यक्ष सिंहले जानकारी दिएका छन् । अवार्डको सहआयोजकमा चर्चा अनलाईन प्रा.लि. रहेको छ ।
तपाईको प्रतिक्रिया