गाईघाट, १६ माघ । उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने कार्य शुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको मेडिकल कलेज स्थापना अध्ययन समितिका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार र सोमबारस्थलगत अध्ययन गरेको हो ।
टोलीले त्रियुगा नगरपालिका क्षेत्रको भातीखर्क, चाँप, विषणपुर र गाईघाटको ढिम्कीस्थित पिकनिक स्पोर्टलगायत सम्भावित क्षेत्रको स्थलगत अध्ययन गरेको त्रियुगा नगरपालिकाकी उपप्रमुख देवी चौधरीले जानकारी दिए । स्थलगत अध्ययन गरिएका स्थानमध्ये चाँप क्षेत्रको बीस बिघा जग्गा क्षेत्र सबैभन्दा उपयुक्त भएको अध्ययन टोलीले बताएको पनि उनले जानकारी दिए ।
प्रदेश नं १ को उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलु, भोजपुर, सङ्खुवासभा, प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा तथा प्रदेश नं ३ को सिन्धुली र रामेछाप जिल्लालाई केन्द्रीकृत गरेर सरकारले उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको टोलीका सदस्य तथा शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्रले बताए ।
अध्ययन टोलीका संयोजक तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीका अनुसार टोलीले अध्ययन प्रतिवेदन सरकारलाई बुझाएपछि यसको सबै कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
डा गोविन्द केसीको मागअनुसार नै अब सरकारी क्षेत्रबाट मेडिकल कलेज स्थापना गर्न सरकारले देशको तीनवटा स्थानमा तत्काल तीन मेडिकल कलेज स्थानमा गर्न अध्ययन शुरु गरेको अध्ययन टोलीले जनाएको छ । उदयपुर, पाँचथर वा इलाम तथा डडेल्धुरा वा डोटीमध्ये एक स्थानमा एक एक मेडिकल कलेज स्थापना हुने लक्ष्य सरकारले लिएको पनि टोलीले जनाएको छ ।
तपाईको प्रतिक्रिया