सर्लाही , ६ साउन । डेढ साताअघि परेको अबिरल वर्षाले सर्लाहीमा पुर्याएको क्षति र पछिल्लो अवस्थाबारे बुझ्न राष्ट्रियसभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै टोली सर्लाहीको भ्रमण गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना नेतृत्वको टोलीले सदरमुकाम मलंगवामा तथा संघीय संसद्को राज्य व्यवस्था समितिको अर्को टोलीले बाढीले पु¥याएको क्षतिको स्थलगत अवलोकन गरेको छ । सर्लाही निवासी समिति सदस्य राजेन्द्र महतो नेतृत्वको चार सदस्यीय टोलीले पनि लखन्देही नदी तथा झिम नदीको बाढीले पु¥याएको क्षतिको स्थलगत अवलोकन गरेको हो । टोलीसँगै संघीय सांसद रामेश्वर राय यादव, प्रदेश सांसदहरू, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतसहित सुरक्षा अधिकारीलगायत बाढीले पुर्याएको क्षतिस्थल पुगेका थिए ।
स्थलगत अवलोकनपश्चात् जिल्ला समन्वय समितिको कार्यालयमा संसदीय टोलीले बाढी र डुबानले सर्लाहीमा पु¥याएको क्षति एवं पछिल्लो अवस्थाबारे प्रजिअ राउतलगायतबाट जानकारी लिएको छ । समिति सदस्य एवं पूर्वमन्त्री राजेन्द्र महतोले बाढीले भत्काएको सडक मर्मत सम्भार एवं डुबानपीडितलाई अबिलम्ब राहत उपलब्ध गराउन निर्देशन दिए ।
महोत्तरीबाट सर्लाही आएको राज्य व्यवस्था समितिको टोली मध्याह्न रौतहटतर्फ लागेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
तपाईको प्रतिक्रिया