विराटनगर, ५ माघ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारतको संयुक्त लगानीमा विराटनगरमा निर्माण भएको एकीकृत जाँच केन्द्र (आईसीपी)को संयुक्त उद्घाटन गर्ने भएका छन् ।
माघ ७ गते दुई प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत आईसीपीको उद्घाटन गर्ने तय भएको हो ।
आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका–१८ मा आईसीपी निर्माण भएको हो । प्रधानमन्त्री ओलीले सिंहदरबारको वार रुमबाट र मोदी दिल्लीबाटै भिडियो कन्फ्रेन्समा जोडिने र एकै समयमा स्विच अन गरेर उद्घाटन गरिनेछ ।
१ अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा भारतीय कम्पनी इन्फ्राकनले आईसीपी बनाएको हो ।
आयात निर्यातमा एकद्वार लागू गर्न भारतीय आईसीपी र नेपाली आईसीपीबीच बढीमा ३ सय मिटर दुरी छ ।
नेपाल भित्रने पयर्टकीय सवारी, मालवाहक सवारी भारतीय जाँच केन्द्र हँुदै नेपाली जाँच केन्द्रमा प्रवेश गर्नेछ। सो सवारीलाई धर्मकाँटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी व्यवस्थापन गरिन्छ ।
सोही क्षेत्रमा भन्सार राखिने भएकाले त्यहींबाट उद्योगीले सवारीसाधन आफूअनुकूल बाहिर निकाल्न सक्ने छन् ।
तपाईको प्रतिक्रिया