काठमाडौं, १९ कार्तिक । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यभार राजदूत डा. अजय कुमारको उपस्थितिमा मकवानपुर जिल्लाको हेटौंडामा अवस्थित नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरेका छन् ।
उक्त कार्यक्रममा प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेश ३ का आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटिइभिटी) का सदस्य सचिव पुष्परमण वाग्ले लगायत ६०० भन्दा बढी स्थानीय तथा विद्यार्थीहरुको उपस्थिति थियो ।
व्यावसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको यस नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको भा.रु. ३८.५३ करोड अनुदान सहयोगमा निर्माण भइरहेको छ ।
निर्माण कन्सल्टेन्ट्स प्रा.लि.ले परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा तथा टेलिकम्युनिकेशन्स कन्सल्ट्स इण्डिया लि.ले परियोजना ठेकदारको रुपमा ३२ एकडभन्दा बढी क्षेत्रफलमा यस पोलिटेक्निकको निर्माण गरिरहेका छन् ।
यस पोलिटेक्निक परियोजनाको कूल निर्माण क्षेत्रफल १९,२०० वर्ग मिटर रहनेछ । यस पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुउद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था रहेको छ । यस परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।
परियोजना शुभारम्भ कार्यक्रम भारत नेपालबीच रहेको मैत्री सम्बन्धको अर्को प्रमाण हुनुका साथै व्यावसायिक तथा सीप विकासका क्षेत्रमा पूर्वाधार सुदृढिकरण गर्ने नेपाल सरकारको प्रयासमा हातेमालो गर्ने भारत सरकारको प्रतिबद्धताको रुपमा रहेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया