जीर्ण अवस्थामा रहेको मितेरी पुलको सांसद यादवद्वारा निरीक्षण

समाचार

9/16/2018

वीरगंज, २० भाद्र । भारत र भारत भएर नेपाललाई व्यापारिक रुपमा संसारसँग जोड्ने मितेरी पुलको बिग्रेको अवस्था सुधार गर्न पर्सा क्षेत्र नम्बर १ साँसद प्रदीप यादवको नेतृत्वमा अनुगमन गरिएको छ । 

रक्सौल र वीरगन्जको बीचमा रहेको मितेरी पुल करिब एक वर्षदेखि बर्षातमा अझ जीर्ण बन्न पुगेको छ । वीरगन्जका स्थानीय र रक्सौलका नागरिक अगुवाहरुको गुनासो आएपछि आफूले यस पुलको जिर्णोद्धारका निम्ति पहलकदमी लिएको पुल अनुगमन गर्दै साँसद यादवले प्रतिक्रिया दिए ।

उक्त पुल आवत जावत गर्ने एउटा माध्यम मात्र नभएर दुई देशविचको सम्बन्धको सेतु रहेको नेता यादवले टिप्पणी गरे । उनले नेपालतिरको पाटोको मर्मत सम्मभार गर्न वीरगन्ज महानगरपालिकाले अग्रसरता लिनुपर्ने प्रस्ताव गरेपछि महानगरका नगरप्रमुख विजय सरावगी र प्रमुख प्रसाशकीय अधिकृत भिष्मकुमार भुषालले समर्थन गरेका थिए । यस प्रयासले पुलको आधा पाटोको लागि आफुहरु ढुक्क भएको भन्दै रक्सोलका नागपरिक अगुवा महेश अग्रवालले प्रतिक्रिया दिए । 

अनुगमन निरिक्षणका दौरान पुगेको नेपाली टोलीलाई स्वागत गर्न अग्रवाल लगायत रक्सोलका नागरिक अगुवा सिमामा आइपुगेका थिए । उनीहरुले आफुहरुले भारतका सरोकारवाला निकायहरुलाई घचघच्याउने काम गरिरहेको बताए ।

अनुगमनको क्रममा सांसद यादवले भौतिक योजना तथा अवास मन्त्री रघुवीर महासेठलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको बताए ।’मितेरी पुलको जरजर अवस्था बारे मन्त्री ज्युलाई जानकारी गराउन खोजेको थिए,तर उनी फोन उठाएनन्, ’सांसद यादवले भने ।मन्त्री महासेठ ६ महिना अघि वीरगंजको एक कार्यक्रममा सहभागी हुन आउदा एक महिना भित्र मितेरी पुल र बाइपास सडक खण्डको मरम्त गराउने आश्वासन दिएका थिए ।

अनुगमनपछि सांसद यादव र वीरगंजका मेयर सरावगीको संयुक्त प्रयासमा मरम्त सम्भारको काम चाडै थाल्ने सहमति भएको छ ।हाललाई गिट्टी खसाली बाटो सुधारिनेछ,चाडै केन्द्रीय योजनाबाट मितेरी पुल र बाईपास सडक क्षेत्रको काम गराउने समझदारी बनेको सांसद यादवले बताए ।

निरीक्षण टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, प्रहरी उपरीक्षक रेवती ढकाल, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार भुशाल लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ