कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू

समाचार

2/15/2019

पर्सा, ३ फागुन । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आजदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विहीबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन बालजी अरुण कुमारले कोलकाताबाट नेपालका लागि कन्टेनरमार्फत हुने ढुवानीमा इसीटीएस प्रणाली लागू गरिएको जानकारी दिए ।
उनले इसीटीएस लागू भएपछि नेपाली आयातकर्ताको समय र खर्च दुवै जोगिने दावी गरे । इसीटीएस प्रणालीले कागजी प्रक्रियालाई न्यून गर्नुका साथै बन्दरगाहमा लाग्ने एजेन्ट खर्चलाई समेत समाप्त गर्ने अरुण कुमारको भनाइ छ ।

उनले इसीटीएस लागू भएपछि बन्दरगाहको झन्झटिलो भन्सार प्रक्रियाका कारण तिर्दै आएको विलम्ब शुल्कबाट नेपाली आयातकर्ताले राहत पाउने जानकारी दिए ।

कोलकाता बन्दरगाहबाट वर्षेनी एक लाख कन्टेनर नेपाल भित्रिने गरेको र सोमध्ये ४० प्रतिशत कन्टेनर रेलबाट आउने गरेको छ । यो प्रविधिबाट बन्दरगाह व्यवस्थापन, भन्सार, वाणिज्य विभाग, कोलकाता महावाणिज्य दूतावास र आयातकर्ताले अनलाइनबाटै कन्टेनरको अवस्थितिबारे बुझ्न सक्ने बताइएको छ । विशाखापट्टनम बन्दरगााहबाट नेपालका लागि रेलबाट हुने कन्टेनर ढुवानीमा इसीटीएस प्रणली पहिलेदेखि लागू गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ