कैलाली, ९ भाद्र । शनिबारदेखि टीकापुरमा आयोजित तीनदिने थरुहट सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ ।
मोर्चाले चरणबद्ध आन्दोलन घोषणा गर्न लागेको थारुवान टडकमले जनाएको छ । नयाँ संविधानका केही धारा, उपधारा संशोधन हुनुपर्ने, टीकापुर घटनाका राजवन्दीहरुलाई बिना सर्त रिहाई गर्नुपर्ने, थरुहट स्वायत्त प्रदेश हुनुपर्ने, संविधानले ग्यारेन्टी गरेको समानुपातिक समावेशी कार्यन्वय गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन घोषणा गर्न लागेको हो ।
भेलाले लक्ष्मण थारुको संयोजकत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । मोर्चामा प्रवक्ताका रुपमा मिनराज चौधरी र महासचिवमा तुल्सी थारुलाई राखिएको छ ।
राष्ट्रिय सम्मेलनका संयोजक मिनराज चौधरीले १६ पृष्ठको आवधारणा प्रस्तुत गर्दै थरुहट आन्दोलनको प्रस्ताव गरेका थिए । देशभरिबाट आएका प्रतिनिधिहरुले आन्दोलनको विकल्प नरहेको बताएका थिए। तर आन्दोलनको स्वरुप कस्तो रहनेबारे सबैले प्रश्न गरेका थिए ।
उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि थारुहरुलाई विद्रोहबाटै अधिकार पाउने भएकाले विद्रोह नरोक्न आग्रह गरेका थिए। उनले उक्त विद्रोहमा आफ्नो र आफ्नो पार्टीको सहभागितासमेत रहने बताएका थिए ।
तपाईको प्रतिक्रिया