दाइजोमा मोटरसाइकल नदिएकोले महिलाको हत्या, २ जना पक्राउ

समाचार

9/8/2019

रौतहट, २१ भाद्र । जिल्लाको राजपुर नगरपालिका ७ अकोलवामा दाइजोमा मोटरसाइकल नदिएको निहुमा एक विवाहिता महिलाको हत्या भएको छ ।

गत विहिबार हत्या गरिएको भए पनि मृतकका बुवाले प्रहरी कार्यालयमा किटानी जाहेरी दरखास्त दिएपछि दाइजोको लागि हत्या गरिएको खुलेको हो ।

विवाहपछि दाइजो ल्याउन दबाब दिँदै आएका ज्वाई रामबाबू सहनीले २५ वर्षीय छोरी सन्जू देवीको हत्या गरेको आरोप लगाएका छन् ।

दाइजोमा मोटरसाइकल नपाएको भन्दै छोरीलाई कुटपिट गर्दै आएका ससुराली पक्षले कर्तव्य गरी हत्या गरेको मृतकका बुवा अविलास सहनीले बताएका छन् ।

कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग गर्दै आएको उनको भनाइ रहेको छ ।

मृतक महिलाको एउटा सन्तानको रुपमा २ वर्षको छोरी रहेको बुझिएको छ । घटना विबादित तथा शंकास्पद भएकोले तत्काल अनुसन्धानका लागि मृतकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ