दलित समुदायलाई आधुनिक सोचका साथ अघि बढ्न मुख्यमन्त्रीको आग्रह

समाचार

8/19/2019

जनकपुरधाम, २ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले दलितहरुलाई अधिकार प्राप्तिका लागि पूरानो सोच त्याग्नु पर्ने बताएका छन् ।

दलित महिला संघद्वारा सोमबार जनकपुरधाममा आयोजित स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरुको भूमिका र जिम्मेवारी विषय प्रदेशस्तरीय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले दलित समुदायलाई आधुनिक सोचका साथ अघि बढ्नु पर्ने आवश्यकता औल्याएका हुन् ।

शिक्षामा पछि परेकै कारण दलित समुदायले आफ्नो अधिकार उपयोग गर्न नसकेको उल्लेख गर्दै उनले शिक्षाप्रति जागरुक बनाउन दलित जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

उत्पीडित समुदायको हक अधिकारको सुनिश्चितता तथा समतामूलक सहभागिताका लागि प्रदेश सरकार एक पछि अर्को कार्यक्रम ल्याइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सभामा छलफलमा रहेको दलित सशक्तिकरण ऐन सबै समस्याहरुको एकमुष्ट समाधान दिने विश्वास व्यक्त गरे ।

उद्घाटन सत्रमा विशिष्ट अतिथि प्रदेश सरकारका अर्थमन्त्री एवं समाजवादी पार्टी मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवले परिवर्तनको आन्दोलनमा मुख्य भूमिका निर्वाह गरेका दलित समुदायलाई आफ्नो अधिकार खोज्ने अवस्था अझै रहनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको बताए ।

आफ्नो पार्टी समानताकै लागि संघर्ष गर्दै प्रदेश २ को सरकारको नेतृत्व गर्ने अवसर पाएकाले दलितहरुको हक अधिकारको सुनिश्चितताका लागि प्रदेश सरकार गम्भीर रहेको उनको कथन थियो ।

दलित महिला संघका अध्यक्ष कला स्वर्णकारको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संघका संस्थापक नेतृ तथा समाजवादी पार्टीका केन्द्रीय सचिव दुर्गा सोव लगायतका वक्ताहरुले सम्बोधन गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ