कैलाली, १६ पुस । कैलालीसित जोडिएको नेपाल–भारत सीमामा हराएका २७ सीमा स्तम्भ निर्माण गरिएको छ ।
नेपाल–भारत सीमा सर्वेक्षण टोली नं ४ का प्रमुख नापी अधिकृत जनकराज भट्टले सीमा क्षेत्रमा मुख्य र सहायक गरी १३३ सीमा स्तम्भ हराएकामा २७ स्तम्भ निर्माण पूरा भएको जानकारी दिए ।
दुवै देशको संयुक्त सीमा सर्वे टोलीले नयाँ स्तम्भ निर्माणका साथै ९८ स्तम्भको समेत मर्मत सम्पन्न गरेको हो । कैलालीसित जोडिएको नेपाल–भारत सीमा क्षेत्रमा मुख्य ५३ र सहायक २२९ सीमा स्तम्भ छन् ।
दुवै देशको संयुक्त सर्वे नापी टोलीले गत वर्ष नै सीमाको सर्वेक्षण गर्नुभन्दा पहिले गरिने रेकी कार्य (पुर्वेक्षण) सम्पन्न गरिसकेको थियो ।
कैलालीको कालाकुण्ड क्षेत्रमा नेपालको केही भूभाग भारतीय पक्षबाट उपयोग हुँदै आएकोमा सो क्षेत्रमा दुवै देशको संयुक्त सीमा सर्वे टोलीले सीमा स्तम्भ निर्माण गरेपछि हाल करीब १६ विघा जग्गा नेपाली भूमिमा कायम हुन आएको छ ।
तपाईको प्रतिक्रिया