नेपालमा जल परिवहनको अध्ययन गर्न टोली भारत जाने

समाचार

9/16/2018

काठमाडौं, २७ भाद्र । जल परिवहनसम्बन्धी अध्ययन गर्न नेपाली टोली एक सातापछि भारत जाने भएका छन् । प्रस्तावित जल परिवहनको निर्माण तथा सञ्चालनका लागि जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेलबासेको नेतृत्वमा नेपाली टोली भारत जान लागेको हो ।

भारतले गङ्गा नदीमा सुरु गर्न लागेको जल परिवहनसम्बन्धी अध्ययन गर्न नेपाली टोली आगामी असोज १ गते भारत जान लागेको अध्ययन टोलीका संयोजक तथा आयोगका सहसचिव बेलबासेले जानकारी दिए ।

‘इनल्यान्ड वाटर–वे अथोरेटी अफ इन्डिया’ को समन्वयमा त्यसतर्फ प्रस्थान गर्न लागेको उक्त टोलीले बनारस र कोलकातास्थित गङ्गा नदीमा जल परिवहनसम्बन्धी अध्ययन गर्नेछ ।

यस भ्रमणले समुद्रबाट नेपालमा पानीजहाज ल्याउन सकिने सम्भावनाबारे अध्ययन गरिनेछ । यस्तै, नेपाली टोली फर्केपछि थप अध्ययनका लागि भारतीय टोली नेपाल आउने छ । यसअघि जल यातायात सञ्चालनको सम्भावनाबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ असार ३१ गते काठमाडौँमा नेपाल र भारतबीच सहसचिवस्तरीय दुई दिवसीय छलफल सम्पन्न भएको थियो । नेपालमा जलमार्ग सञ्चालनबारे नेपाल र भारतबीचको यो पहिलो बैठक थियो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच दुई पक्षीय छलफल गरी नेपालमा जल यातायात सञ्चालनको कामलाई अगाडि बढाउने गरी सहमति भएको थियो । उक्त सहमतिलाई कार्यान्वयनमा ल्याउने गरी नेपाल भारतबीच द्विपक्षीय छलफल सुरु गरिएको थियो । 

ओलीको भारत भ्रमणको बेला हिन्द महासागरबाट नेपालमा पानी जहाज सञ्चालन गर्ने विषयमा दुई मुलुकबीच सहमति भएको थियो । व्यापार तथा पारवहन व्यबस्थाको अधीनमा रहेर दुई देशमा सामान ओसारपसार गर्न अन्तर्देशीय जलमार्गको विकास गर्ने उक्त सहमति पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ