राकेश यादव, रौतहट, १२ भाद्र । विगत २ महिनादेखि पानी नपर्दा रौतहटका किसानहरु चिन्तित भएका छन् । गएको असार २८ गते आएको भीषण बाढीपछि पानी नपर्दा किसानहरु चिन्तामा परेका हुन् । धान रोप्ने समयमा पानी परेको र अहिले पानीको नितान्त आवश्यकता भएको बेला पानी नपरेपछि धानको उत्पादनमा कमी आउने डरले किसानहरु सशंकित बनेको हो ।
रौतहटको दक्षिणी भेगका किसान बढी चिन्तित देखिएका छन् । खेतमा मेहनत गरेर लगाएको धानबली पानी नपरेको कारण विकास गर्न सकिएको छैन । भाद्र महीना बित्न लाग्दा पानी नपरेको कारण धान हुने विश्वास छीन हुँदै गएको किसानहरुको भनाइ रहेको छ ।
सिचाईको सुविधा भएको रौतहटको मध्य भागमा धान फल्ने अवस्था रहे पानी सिचाई नभएको ठाउँमा धान उब्जने अवस्था न्यून रहेको छ । स्थानीय राजिन्द्र महराले यस्तो अवस्था रहने हो भने धान हुन नसक्ने बताएका छन् । सिचाईको सुविधा नभएको सदरमुकाम गौर लगायत राजदेवी, ईशनाथ, बौधिमाई, दुर्गा भगवती, यमुनामाई गाउँपालिका क्षेत्रमा धानको उत्पादनमा कमी आउने सम्भावना रहेको छ ।
चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गढीमाई नगरपालिका, माधवनरायण नगरपालिका क्षेत्रमा नहरको सुविधा भएकोले धान बाली केही बढी हुने अवस्था रहेको छ ।
पानी परेपछि बाढीका कारण गौर, मुडवालावा, राजदेवी, लक्ष्मीपुर बेलविच्छवा, सिर्सिया, हज्मीनिया, बसन्तपुर, झुनखुनबा, औरैया, बनजारहा, टिकुलिया, सवगढा, फतुवामहेशपुर, पिपरा भगवानपुर, मत्सरी, बडहरवाका किसानहरु मर्कामा पर्ने गरेका छन् ।
पानी आउँदा पानीको कारण बालीनाली नष्ट हुने गरेको क्षेत्रमा पानी नपर्दा खडेरीले गर्दा बालीनाली नष्ट हुने गरेकोले किसानहरु पीडित हुने गरेका छन् । कहिले असीनाले बालीनाली सिध्याउँछ त कहिले बाढीले बगाउने पीडित किसानहरुको दुःखेसो रहेको छन् ।
करोडौँ रकम लगानी गर्ने स्थानीय सरकारले किसानको समस्या बुझ्न नसकेको स्थानीय पीडित किसनहरुको आरोप रहेको छ । लालबकैया र बाग्मती तथा झाँझ नदी समेत भएको क्षेत्रमा नहरको निर्माण सहज भएपनि स्थानीय, प्रादेशिक र संघीय सरकारले यसतर्फ बजेट विनियोजन गर्न सकेका छैनन् । प्राकृतिक पानीको भरमा खेती गर्ने किसानहरुलाई बाली सप्रिने कसरी हो भन्ने चिन्ताले सधै सताइरहने गरेको छ ।
पम्पी सेटको सहायताले खेती गरेका किसानहरु खेतमा दरार परेपछि दुखित भएको छन् । भदौ महिनामा राम्रो विकाश गरिसक्नु पर्ने धानवाली अहिले सम्म हुर्किन नसकेकोले धान फल्ने आश कम भएको अर्का किसान दुख साहले बताए । समयमा पानी नपर्दा धानवालीमा विभिन्न किसिमका रोगको संक्रमण बढ्ने खतरा बढेको छ ।
आकाशे पानी नपरेपछि किसानहरुले अहिले दमकल, विद्युतीय मोटर प्रयोग गरेर खेतमा पानी हाल्ने गरेका छन् । विहानैदेखि लाग्ने चर्को घामले काम गर्न समेत कठिनाई भइरहेको छ । दिनभरी लाग्ने गरेको घाम र प्रचण्ड गर्मीको कारण जनजीवन समेत प्रभावित भएको अवस्था रहेको छ । गर्मीको कारण ज्वरोको प्रकोप बढेको जिल्ला अस्पतालले जनाएको छ ।
तपाईको प्रतिक्रिया