जनकपुरधाम, ३ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दबाब प्रभावमा नपर्न निर्देशन दिएका छन् ।
प्रदेश प्रहरी कार्यालयमा सोमबार आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा मुख्यमन्त्री राउतले अपराध नियन्त्रणका लागि निष्पक्ष अनुसन्धान हुनुपर्ने भएकोले कसैको दबाब प्रभावमा नपर्न निर्देशन दिएका हुन् ।
शान्ति सुरक्षा विना प्रदेशको समृद्धि सम्भव नरहेकोले प्रदेश सरकार सुरक्षा व्यवस्थाप्रति सम्वेदनशिल रहेको उल्लेख गर्दै उनले प्रदेश प्रहरीलाई आवश्यक सुरक्षा सामग्रीहरुमा कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिवद्धता समेत जनाए ।
प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेश प्रहरीलाई उपलब्ध गराएको सुरक्षा सामग्रीहरु मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रधुमन कुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन कुनै कमि नराखिने बताए । उनले एकाइसौ सताव्दीमा अपराधको प्रवृतिमा समेत परिवर्तन भएकोले सोही अनुरुप प्रहरीलाई समेत रुपान्तरण गरिने उल्लेख गरे ।
कार्यक्रममा जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह सहितको उपस्थिति रहेको थियो । उक्त अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।
तपाईको प्रतिक्रिया