प्रदेश सांसद सुमनद्वारा विपन्न छात्रालाई साइकल वितरण

समाचार

9/6/2019

राजविराज, २० भाद्र । बेटी बचाऊ बेटी पढाउ अभियान अन्तर्गत प्रदेश २ का प्रदेशसभा सदस्य मनिष कुमार सुमनले विपन्न छात्राहरुलाई साइकल वितरण गरेका छन् ।

सप्तरीको महादेवा गाउँपालिकास्थित रहेका नरबहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनरामा आयोजित कार्यक्रममा शुक्रबार साइकल वितरण गरिएको छ ।

शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित एक समारोहबीच प्रदेश २ का सांसद तथा राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुमनले कक्षा ८ मा पढ्ने ५६ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।

साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको बताउँदै प्रदेशसभा सदस्य सुमनले यसको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्राहरुलाई आग्रह पनि गरे ।

छोराछोरीमा भेदभाव नगर्न तथा सामाजिक विकृति अन्त्य गर्न पनि समाजमा छोरीहरुलाई शिक्षित हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले हरेक बालबालिकालाई शिक्षा दिनु सरकारको कर्तव्य रहेको उल्लेख गरे ।

समाजमा महिलाप्रति हुँदै आएको विभेद र हिंसालाई न्यूनिकरण गर्न तथा सकारात्मक परिवर्तनका लागि प्रदेश २ सरकारले बेटी बचाऊ बेटी पढाउ अभियान ल्याएको भन्दै उनले छोरीहरुलाई पनि नियमित विद्यालय पठाउन अभिभावकहरुसँग पनि आग्रह गरे ।

प्रदेशसभा सदस्य सुमनले शैक्षिक रूपमा पछाडि परेका महिलाहरूका लागि मुख्यमन्त्रीले ल्याएको जनप्रिय योजनाहरू छोरी शिक्षा बीमा जस्ता योजनाहरूले छोरी सशक्तिकरणमा मद्दत पु¥याउने बताए ।

कार्यक्रमका अतिथि महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, महादेवा गापा वडा नम्वर १ का अध्यक्ष जयश्वर किशोर दास, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरी, राजपा नेता सुकदेव यादव लगायतका वक्ताले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ