प्रदेश २ मा ८२ प्रतिशत रोपाइँ

समाचार

8/9/2019

काठमाडौ, २४ साउन । यस वर्ष प्रदेश २ का जिल्लाहरुमा झण्डै ८२ प्रतिशत रोपाइँ भएको छ । समयमा वर्षा नभएर रोपाइँ ढिला सुरु भए पनि यो वर्ष गत वर्षकै हाराहारीमा धान रोपाइँ भएको छ।

साउनको तेस्रो सातासम्म मुलुकभर ८६ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । गत वर्ष सोही अवधिमा ८९.६२ प्रतिशत रोपाइँ भएको थियो ।

गत वर्षको तुलनामा करिब चार प्रतिशत कम धान रोपाइँ भएको भए पनि साउन मसान्तसम्म गत वर्ष जतिनै रोपाइँ हुने मन्त्रालयले जनाएको छ ।

तराईमा ८५.६३, मध्य पहाडमा ८६.६५ र उच्च पहाडमा ८८.८४ रोपाइँ भएको छ । प्रदेशगत आधारमा सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ ।

उक्त प्रदेशमा ९५.३३ प्रतिशत रोपाइँ गरिएको छ । प्रदेश नं १ म ८०.१३, प्रदेश २मा ८१.९९, प्रदेश ३मा ८८.६७, गण्डकी प्रदेशमा ८६.५९, प्रदेश ५मा ८८.८६, कर्णाली प्रदेशमा ९४.१० प्रतिशत रोपाइँ भएको छ ।

मुलुकमा यो वर्ष १३ लाख ६७ हजार आठ सय २१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अपेक्षा गरिएको छ । अहिलेसम्म ११ लाख ७६ हजार तीन सय ९३ हेक्टरमा धान रोपिएको छ ।

गत वर्ष सोही अवधिमा १२ लाख २५ हजार सात सय ३० हेक्टरमा रोपाइँ भएको थियो । सिँचाइको अभाव, जग्गा प्लटिङ, ग्रामीण क्षेत्रमा जमिन बाँझो हुनुलगायत कारण पनि धान रोपाइँ थोरै मात्र कम भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ