पर्यटनमन्त्री अधिकारी भारतमा

समाचार

1/16/2019

काठमाडौं, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

मन्त्री अधिकारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र निर्देशक दीपक बराल पनि भारत गएका छन् ।

भारत भ्रमणमा रहँदा मन्त्री अधिकारीले भारतीय अधिकारीसँगको साइडलाइन वार्तामा हवाईमार्ग प्रवेशविन्दु ‘एयर रुट’ सम्बन्धमा पनि कुराकानी गर्नेछन् ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतीय विमान प्राधिकरणबीच नेपाललाई थप हवाई रुट दिने सम्झौता भएको थियो ।

उक्त सम्झौताबमोजिम लामो समय बितिसक्दा पनि भारतले हवाई रुट दिन चासो देखाएको छैन । गत असार २ गते भएको सहमतिअनुसार भारतले नेपाललाई थप तीन हवाई रुट दिने सहमति भएको थियो ।

सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेशविन्दुका लागि काठमाडौँदेखि विराटनगर तथा जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउने र दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कनका आधारमा उक्त रुटहरुबाट वायुयान नेपाल प्रवेश गर्न सक्ने उल्लेख गरिएको थियो ।

यस्तै पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि वर्तमान काठमाडौँ–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको आधारमा लागू गर्ने छ ।

यस्तै पूर्वतर्फ काठमाडौं–जनकपुर–पटनाबीचको एकतर्फी रुटलाई दुईतर्फी बनाउन दुवै पक्षबाट सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको अधारमा लागू गर्ने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ