सिरहा, ६ फागुन । भारत प्रशासित कश्मिरमा भएको भीषण आक्रमणमा ज्यान गुमाएकाहरुप्रति मिर्चैयामा श्रद्धान्जली अर्पण गरिएको छ ।
मिर्चैया नगरपालिका ५ स्थित रहेको शान्ति युवा क्लबले आयोजना गरेको श्रद्धान्जली सभामा ज्यान गुमाएकाहरुको आत्माको शान्तिका लागि मैनबत्ती प्रज्वलन गर्दै आइतबार साँझ मौन धारण गरिएको थियो ।
कश्मिरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्ला स्थित राजमार्गमा छुट्टी मनाएर काममा फर्कंदै गरेका करिब २ हजार ५०० सुरक्षाकर्मी बोकेको ७८ ओटा सवारी–साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले बिहीबार आत्मघाती आक्रमण गरिएको थियो ।
आक्रमणमा ४१ भन्दा बढी सैनिकको मृत्यु भएको थियो । आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।
आक्रमणको जिम्मेवारी आतंककारी समूह जैस–ए मोहम्मदले लिएको छ । आक्रमणका कारण भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएका छन् ।
कार्यक्रममा क्लबका पदाधिकारी, स्थानियबासी, राजनीतिकर्मी, शिक्षक, विद्यार्थी, व्यापारी लगायतका सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया