रौतहट, ६ साउन । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले मधेशलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेश २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि रौतहटमा आयोजित छलफल कार्यक्रममा सांसद महतोले चुरे दोहनकै कारण मधेश बाढीको चपेटामा पर्दै आएको बताए । चुरे विनाश गर्ने अमानवीय क्रियाकलाप तुरून्त बन्द हुनु जरूरी रहेको भन्दै उनले चुरेलाई बचाउन स्थायीरूपमा समाधान खोज्नु आवश्यक रहेको बताए । महतोले चुरेमा बस्ती बसाउने र सडक निर्माण गर्ने कार्य रोक्नुपर्ने पनि माग गरे ।
उनले बाढी र डुबान नेपाल–भारतको सामूहिक समस्या रहेको उल्लेख गर्दै यो असामूहिक समस्या सामूहिकरूपमै निराकारण गर्नुपर्ने जिकिर गरे ।
उनले अहिले नदीहरूको जल सतह मात्रै घटेको र वर्षायाम बाँकीनै रहेकाले प्रदेश २ का मुख्य नदी वाग्मती, लालबकैया, खाँडो, कमलालगायत नदीका बाढी नियन्त्रणको उपाय यथाशीघ्र पहिल्याउनु आवश्यक रहेको बताए ।
तपाईको प्रतिक्रिया