काठमाडौं, ८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश विन्दु दिन भारत सहमत भएको बताएका छन् ।
आगामी वर्षदेखि सञ्चालनका लागि तयार हुने लक्ष्य लिइएको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट समस्या हुने ठानिएका बेला सरकारले गाँठो फुकाउने प्रयास गरेको छ । एकमात्र हवाई प्रवेश विन्दु (एयर इन्ट्री प्वाइन्ट) हुँदा भैरहवा विमानस्थलको व्यावसायिक सञ्चालनमा समस्या हुने बताइएको छ ।
भैरहवा विमानस्थलमा उडान तथा अवतरण गर्नलाई भैरहवा नजिकैबाट जहाज प्रवेश गर्नसक्ने गरी हवाई रुट बनाउने काम भइरहेको पनि मन्त्री अधिकारीले जानकारी दिए ।
ग्लोबल एभिएसन समिटमा सहभागी हुन मुम्बई गएका पर्यटनमन्त्री अधिकारीले भारतका उद्योग वाणिज्य तथा नागरिक उड्यन मन्त्री सुरेश प्रभुसँगको छलफलबाट उक्त रुटका बारेमा सहमति भएको जानकारी दिए ।
भारत नेपाललाई थप हवाइ रूट दिन पनि सकरात्मक रहेको मन्त्री अधिकारीको भनाइ छ । भारतीय मन्त्रीसँग भएको छलफलपछि अन्य रुटका बारेमा पनि निरन्तर छलफल गर्दै अघि बढ्ने सहमति भएको मन्त्री अधिकारीले जानकारी दिए ।
भैरहवा रुटबाट जहाजले प्रवेश विन्दु पाएपछि भारतको दिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो पर्ने छ । काठमाडौं विमानसथल आउनलाई पनि त्यहाँबाट आएका जहाजलाई छोटो दुरी पर्ने छ ।
तपाईको प्रतिक्रिया