जनकपुरधाम, १२ साउन । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बाढीबाट प्रदेश नं. २ मा भएको क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् ।
असार २७ गते आएको भीषण बाढीबाट प्रदेश २ मा भएको क्षतिबारे सम्बन्धित पक्षलाई जानकारी गराउनुको साथै सहयोग जुटाउने उद्देश्यले काठमाडौ पुगेको मुख्यमन्त्री राउतसहितको सर्वदलीय टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेका हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मुख्यमन्त्री राउतले बाढीबाट प्रदेश नं. २ मा सार्वजनिक र नीजि गरि अर्बौं रुपैयाँ बराबारको क्षति भएको, ३७ जनाभन्दा बढीको मृत्यु भएको तथा हजारौ परिवार घरबारविहीन भएको जानकारी गराएका हुन् ।
बाढीबाट भएको क्षतिको परिपूर्ति प्रदेश सरकारको बुताभन्दा बाहिर रहेको उल्लेख गर्दै उनले विस्थापितहरुको पुनर्वास र पुनर्निर्माणका लागि संघीय सरकारलाई सहयोग गर्न आग्रह समेत गरे ।
भेटमा मुख्यमन्त्री राउतले विस्थापित परिवारहरुको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मत माथि विशेष जोड दिएका हुन् ।
जवावमा प्रधानमन्त्री ओलीले केही दिन भित्रै आफु पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।
भेटमा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव समेतको उपस्थिति थियो भने प्रदेश २ को सर्बदलीय टोलीमा मुख्यमन्त्री राउत सहित भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव सहितकोे सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया