राष्ट्रिय हितका सम्बन्धमा प्रधानमन्त्रीद्वारा खुला छलफल गर्न निर्देशन

समाचार

2/26/2019

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका छन् ।

बुधबारदेखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन मंगलबार सिंहदरबारमा बैठक आयोजना गरेको थियो ।

सो बैठकमा नेपाल–भारत स्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले २३ वर्षअघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घन मिटर प्रति सेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस विषयलाई गम्भिरताका साथ उठाउनु पर्ने बताएका छन् ।

“हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यान्वयन हो । सन्धी अनुसार नेपालले १० क्यूमेक्स पानी पाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिती अब हुनुहदैन ।”

२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यान्वयन गराउने भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

बैठकमा उर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु प्रसाद रिमाल परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई लागयतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ