राहतमा वडाअध्यक्षको अवरोधका कारण एक सय घरपरिवार वञ्चित

समाचार

8/23/2019

रौतहट, ६ भाद्र । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ का दलित समुदायका एक सय जना बाढीपीडित राहतबाट वञ्चित भएका छन् ।

असल छिमेकी नेपाल पोखराले वितरण गर्ने भनिएको एक सय घर परिवारको राहत सामग्री वडा अध्यक्षको कारण वितरण हुन नसक्दा नुनिया, महरा, ठाकुर समुदायका व्यक्तिहरु वञ्चित भएका छन् ।

समाजवादी पार्टी नेपालका निर्वाचित वडा अध्यक्ष पुलिन्दर दासका अवरोधको कारण उक्त समुदायका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गर्न सकिएको छैन ।

३५० घर परिवारका लागि राहत सामग्री लिएर आएका उक्त संस्थाले भाद्र ३ गते नगर प्रमुख धीरेन्द्र कुमार सिंहको रोहवरमा २५० जनालाई १५ किसिमका खाद्यान्न, लुगा कपडासहितका सामान वितरण गरिएको थियो ।

गाउँको पश्चिमतर्फ बसोवास रहेको सो समुदायका पीडितहरुलाई पहिलो दिन समयले नभ्याएको कारण भोलीपल्ट बुधबार बाँकी राहत वितरण गर्ने संस्थाले जनाएको थियो ।

राहत वितरण गर्नुपूर्व जिल्ला विपद व्यवस्थापन समितिको अनुमति र सम्बन्धित वडा कार्यालयको सिफारिस लिनुपर्ने व्यवस्था रहेकोले सोही अनुसार प्रक्रिया पुर्याई राहत सामग्री पहिलो दिन वितरण गरिएको थियो ।

बाकी रहेका एक सय घर परिवारको नामावली प्रमाणित गर्न वडा अध्यक्ष दासलाई भन्दा आफ्नो पार्टीको समर्थकको सहभागी गराउनु पर्ने अडान लिएको कारण बाँकी राहत वितरण गर्न नसकिएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ