वीरगञ्जका मुसहरका लागि नमूना बस्ती बन्ने

समाचार

2/14/2019

वीरगन्ज, २ फागुन । वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा खरको झुप्रोमा बस्दै आएका मुसहरहरू अब नयाँ पक्की घरमा बस्न पाउने भएका छन् । मनियारीमा रहेको दलितवस्तीका मुसहर जातिका ४२ घरपरिवारलाई लक्षित गरी एक करोड रुपैयाँ लागतमा बुधबारदेखि नमूना मुसहर बस्ती निर्माण थालिएको हो ।

मुसहरवस्तीमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नमूना मुसहरवस्तीको शिलान्यास गरेका छन् ।
नमूना मुसहरवस्ती निर्माणका लागि सांसद यादवको निर्वाचन क्षेत्रको स्थानीय पूर्वाधार कोषबाट ७० लाख रुपैयाँ र वीरगन्ज महानगपालिकाबाट ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नमूना मुसहरवस्तीमा विपन्न मुसहरजातिका लागि ४२ वटा एकतल्ले पक्की घर र प्रत्येक घरका लागि एक एक वटा शौचालय निर्माण गरिने छ ।
नमूना मुसहर वस्तीको निर्माण कार्य चालू आर्थिक वर्षको असार मसान्त भित्रै सक्ने लक्ष्य राखिएको छ ।

मनियारीको मुसहरवस्ती सबैभन्दा पछडिएको देखिएकोले नमूना वस्ती निर्माणक थालिएको सांसद यादवले जानकारी दिए । अर्को चरणमा नगवा र बेल्वाका मुसहरहरूका लागि पनि नमूना वस्ती बनाउने उनले बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ