स्वतन्त्र मधेश गठबन्धनका नेता स्व.राम मनोहरका श्रीमतीलाई जनस्वास्थ्य चौकीमा जागिर

समाचार

8/22/2019

नेपालगन्ज, ५ भाद्र । तत्कालीन स्वतन्त्र मधेश गठबन्धन बाँकेका नेता स्व.राम मनोहर यादवको श्रीमती सुनिता यादवलाई जनस्वास्थ्य चौकीमा जागिर दिइएको छ ।

बाँके जिल्लाअन्तर्गत जानकी गाउँपालिका वडा नम्बर ६ मा कार्यालय सहयोगीको रुपमा सुनितालाई जागिर दिइएको जनमत पार्टीका नेता इरफान शेषले मधेशवाणीलाई बताएका छन् ।

गत २४ फागुनमा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौताअनुसार जागिर दिइएको उनले जनाएका छन् ।

जनमत पार्टीको विशेष पहलमा जागिर मिलाइएको छ । साथै तीनै जना बच्चालाई जनमत पार्टीकै पहलमा अध्यापन गराइरहेको छ ।

स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको सम्झौतालाई अबिलम्ब लागू हुने गरि कार्य अघि बढाउनुपर्ने धारणा जनमत पार्टीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज शेषले राखेका छन् ।

‘हामी अगाडी बढिसकेका छौं, सरकारले पनि ढिला गर्नुहुँदैन तत्काल सम्झौता अनुसार अब हामी माथि लगाइएको राजनीतिक मुद्दाको खारिजी हुनुपर्ने’ धारणा व्यक्त गरेका छन् ।

साथै आगामी १५ गते स्व.राम मनोहर यादवको श्रृदान्जली कार्यक्रम आयोजना जनमत पार्टीले गर्ने जनाएका छन् ।

२०७५ भाद्र ७ गते बर्दिया को गुलारिया नगरपालिकामा तत्कालीन संघीय समाजवादी फोरमको कार्यक्रममा सहभागी भएको कारणले मात्रै चार जनालाई उपेन्द्र यादवको निर्देशनमा हिरासतमा लिइ राज्य बिरुद्ध को मुद्दा चलाइएको थियो ।

प्रहरी हिरासतमै राम मनोहर यादवको रहस्यमय मृत्यु पछि समस्या उत्पन्न भइ आन्दोलन समेत भएको थियो ।

राममनोहरसँगै इरफान अहमद शेष, राजित राम बर्मा र हरपाल सिंहलाई समेत पक्राउ गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ