स्वराजको निधनमा नेपाली नेताहरुद्वारा दुःख व्यक्त

समाचार

8/7/2019

काठमाडौं, २२ साउन । भारतका पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधनप्रति नेपाली नेताहरुले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वराजको निधनको खबर सुनेर आफू स्तब्ध भएको उल्लेख गर्दै भारत सरकार र उनको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

यस्तै, पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भारतीय नेता स्वराजको निधनबाट नेपालले एक असल मित्र गुमाउनु परेको उल्लेख गरेका छन् ।

यस्तै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले स्वराजको निधनले आफू स्तब्ध भएको उल्लेख गर्दै उनलाई उच्चस्तरीय राजनेताको रुपमा सम्झिइने बताएका छन् ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालमा लोकतन्त्रका लागि भएको आन्दोलनमा स्वराजको साथ र समर्थन रहेको स्मरण गर्दै उनको निधनबाट भारतका लागि मात्र नभई नेपालको लागि समेत क्षति पुगेको उल्लेख गरेका छन् ।

यसैगरी, परराट्रमन्त्री प्रदिप ज्ञवालीले पनि स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । स्वराज एक प्रतिवद्धता सहितकी दुरदृष्टी नेतृ भएको ज्ञवालीले उल्लेख गरेका छन् ।

यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले असल शुभचिन्तक, अद्वितीय व्यक्तित्व र प्रखर वक्ता गुमाएकोप्रति स्तब्ध भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ