राजर्षी जनक विश्वविद्यालयको उपकुलपति छिट्टै नियुक्त हुन्छ : शिक्षा मन्त्री राई

समाचार

काठमाडौं, २५ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले राजर्षी जनक विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने प्रकृया अगाडि बढेको बताएका छन् ।

आइतबार सिंहरदवारस्थित मन्त्रालयमा वृहत मधेश ककस टोलीले ज्ञापन पत्र बुझाउन जाँदा मन्त्री राईले यस्तो बताएका हुन् ।

उक्त अवसरमा शिक्षा, विज्ञान तथब प्रविधि राज्यमन्त्री प्रमिला यादव पनि उपस्थित रहेकी थिइन् । उनले राजर्षी जनक विश्वविद्यालयको उपकुलपति नियुक्तीका लागि मन्त्रीसँग सहकार्य गरी तत्काल प्रकृया अगाडि बढाउन दवाब दिने प्रतिबद्धता व्यक्त गरिन् ।

करिब १५ महिनादेखि राजर्षी जनक विश्वविद्यालयको उपकुलपति लगायतको पदाधिकारी नियुक्त गर्नका लागि वृहत मधेश ककसको नेतृत्वमा गएको टोलीले शिक्षा, विज्ञान तथब प्रविधि मन्त्री अशोक कुमार राईलाई ५ बुदें ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा राजर्षी जनक विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारीसँगै अन्य कर्मचारी तत्काल नियुक्त गर्नु पर्ने, विश्वविद्यालयको ठप्प भएको शैक्षिक गतिविधि तत्काल सन्चालन गर्नु पर्ने, विश्वविद्यालय सन्चालन र आवश्यक भौतिक पूर्वाधारका लागि पर्याप्त बजेटको निकासा गर्नु पर्ने, विश्वविद्यालयमा थप प्राविधिक बिषयको पठन पाठनको लागि व्यवस्था मिलाउनु पर्ने र विश्वविद्यालय राजनीतिक हस्तक्षेप मुक्त र पदाधिकारी लगायतका अन्य कर्मचारी नियुक्ती राजनीतिक भागबण्डाको आधारमा तत्काल रोक्नु पर्ने माग अगाडि सारिएको छ ।

विश्वविद्यालय पदाधिकारीविहिन हुँदा अध्ययनरत विद्यार्थीहरुको पठनपाठन सन्चालन र अन्य शैक्षिक गतिविधि अवरोध हुन पुगेको छ ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दिनहुँ जसो यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ