काठमाडौं, २५ असार । नेपालका लागि युनिसेफले नयाँ प्रतिनिधिको रुपमा एलिस् अकुङ्गालाई नियुक्त गरेको छ ।
नवनियुक्त युनिसेफ नेपालका देशीय प्रतिनिधि अकुङ्गाले सोमबार परराष्ट्र मन्त्री एन पी साउद समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी छन् ।
अकुङ्गा केन्याली नागरिक हुन् । उनीसँग बालबालिकाको सेवाको क्षेत्रमा केन्या, मलावी, नाइजेरिया, इस्वाटिनी, माल्दीभ्स र अफ्गानिस्तानमा गरि दुई दशक भन्दा लामो काम गरेको अनुभव छ ।
आफ्ना कामका क्रममा अकुङ्गाले विशेष गरी उच्च जोखिमको समयमा बालबालिकाको संरक्षण र अधिकारका लागि निरन्तर पैरवी गर्दै आएकी हुन् ।
उनले दुर्गम र कठिन क्षेत्रहरूमा जीवन रक्षाका लागि आवश्यक मानवीय सहयोगहरू पुर्याउने युनिसेफका प्रयासहरूको संयोजन र कार्यान्वयनमा उल्लेख्य भूमिका निर्वाह गरेकी छन् ।
यसभित्र विद्यमान द्वन्द्व र कोभिड–१९ महामारीका चुनौतीहरूबीच अन्य क्षेत्र सँगसँगै स्वास्थ्य सेवा, शिक्षा, पोषण, खानेपानी तथा सरसफाई एवम् संरक्षणका क्षेत्रमा बालबालिकाका जरुरी आवश्यकताहरू सम्बोधन भएको सुनिश्चित गर्ने काम समेत पर्दछ ।
उनीसँग बालबालिकाको संरक्षण र उनीहरूको स्थितीमा सुधारका लागि बालमैत्री शासन व्यवस्थाको प्रवर्धन, प्रणालीगत सबलिकरण साथै दीगो जलवायू परिवर्तन प्रतिकार्य जस्ता काममा सरकार र अन्य साझेदारहरूसँग हातेमालो गरी काम गरेको अनुभव समेत छ ।
तपाईको प्रतिक्रिया