दिसामुक्त क्षेत्र घोषणा गरे जस्तो नहोस् पूर्णखोप घोषणा : सांसद गौतम

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, १ साउन । बर्दिया जिल्लालाई दिसामुक्त क्षेत्र घोषणा गरे जस्तो नहोस् पूर्णखोप घोषणा भन्दै बर्दिया क्षेत्र न. १ बाट निर्वाचित संघीय सांसद सन्जय कुमार गौतमले चिन्ता व्यक्त गरेका छन् ।

“स्थानीय स्रोतको स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित बर्दिया जिल्ला हाम्रो प्रतिबद्धता“ भन्ने मूल नाराका साथ जिल्ला पूर्णखोप समन्वय समिति बर्दियाले गुलरियामा आयोजना गरेको पूर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा सभालाई सम्बोधन गर्दै सांसद गौतमले चिन्ता व्यक्त गरेका हुन् ।

’बर्दियालाई दिसामुक्त जिल्ला भनेर हामीले ठुलो तामझा गरेर घोषणा गर्यो तर अझै पनि दिसामुक्त हुन सकेको छैन । डलर एजेन्सीहरुलाई चित्त बुझाउने र मिडियाबाजी गर्ने मात्र काम भएको छ । पूर्णखोप घोषणा त्यस्तो नहोस्’, भन्दै उनले शुभकामना व्यक्त गरे ।

प्रत्येक वर्ष माघ, फागुन महिनामा सबै ५ वर्ष मुनिका बालबालिकाको घरधुरी सर्वेक्षण गर्ने खोप छुट भएका तथा शुन्य डोज भएका बालबालिकालाई खोप पूर्ण गरि वडा, पालिका, जिल्ला र प्रदेश पूर्णखोप घोषणा र घोषणा पश्चात प्रत्येक वर्ष दिगोपनाको लागि स्थानीय तहबाट आवश्यक स्रोतको व्यवस्थापन गरि प्रत्येक बर्ष बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गर्न राष्ट्रिय रूपमा बि.स. २०६९ सालबाट यो कार्यक्रमको सुरुवात गरिएको भए पनि २०७० साल असार २५ गते तत्कालीन शिवपुर गाविसलाई पूर्णखोप गाविस घोषणा गरेर बर्दिया जिल्लामा यो कार्यक्रमको सुरुवात गरेको स्वास्थ कार्यलय बर्दियाका कार्यालय प्रमुख गोकर्ण गिरीले बताए ।

२०७८ असार ३१ गते पहिलो पटक बर्दियालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो ।

यसअघि १६ महिनादेखि २ वर्ष मुनिका बालबालिकाहरुको घरधुरी सर्वेक्षण गरि सबै बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गर्ने प्रावधान रहेकोमा यसै वर्षबाट निर्देशिकामा परिवर्तन भइ १६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुको खोप सुनिश्चिततामा गर्ने प्राबधान रहेको हुँदा सो बमोजिम घरधुरी सर्वेक्षण गरि १६ महिनादेखि ५९ महिनासम्मका २३८५९ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएको स्वस्थ्य कार्यलय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले जानकारी गराए ।

 
  
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ