कमल राज पौडेल देवकमल, बर्दिया, ३१ भाद्र । अट्वारी पर्व विशेष गरि पश्चिम नेपालको भित्री मधेशका थारुले आइतबारको दिन ब्रत बस्ने र दोस्रो दिन फहार गर्ने गरि दुई दिन धुमधामसँग मनाउने गर्छन् ।
दाजु र बहिनी, भाई र दिदीको सम्बन्ध प्रगाढ अथवा मजमुत होस् भनेर यो पर्व मनाइने गरिन्छ ।
यस पर्वमा दाजुभाइले विवाहित दिदिबहिनीहरुलाई मिठो मिठो परिकार बनाएर कोशेली दिने चलन छ ।
हिन्दू धर्मावलम्बीहरुले मान्ने प्रायःजसो पर्व भगवानसँग जोडिएको छ ।
हरेक पर्वको आ–आफ्नै विशेषता महत्त्व फरक फरक छ । थारूहरुको आफ्नै मौलिक भेषभुषा संस्कृति पनि छुट्टै छ । थारु समुदाय प्रकृतिको पुजा गर्ने गर्छन् ।
कृष्ण जन्माष्टमीको दुई हप्ता पछि पर्ने आइतबारको दिन मनाइने यो पर्वलाई अट्वारी पर्व भनिएको हो ।
यो पर्वमा पुरुषहरु मात्र व्रत बस्छन् । व्रत बस्नु भन्दा अघिको दिन कुखुराको भाले बास्नु भन्दा पहिला दर खान्छन् यसलाई थारु भाषामा भिन्सरया भन्छन् ।
दिउँसो गन्यारी नामक काठबाट आगो निकालेर भिम देवतालाई चढाउन रोटी पकाउँछन् । यो आगो मुखले फुक्नु हुँदैन । यो पर्वसँग ऐतिहासिक घटना जोडिएको छ ।
पाँच पान्डब र द्रोपती सुर्खेतको काक्रेबिहार घुम्न गएको बेला दाङका दंगिसरणको राज्यमा शत्रुले आक्रमण गरेको सुन्ने बितिकै तावामा पकाउन राखेको रोटी छाडेर दंगिसरणको पक्षमा लडाइँ गर्न दाङ आएको र शत्रुलाई पराजित गरेको किवदन्ति छ । त्यसैले भिम जस्तै बलियो हुन पाम भनी यो व्रत बस्छन् ।
निराहार बसेका ब्रतालुले साँझ पख भिम र अन्य देवी देउतालाई रोटी फलफुल चढाउँछन् र आफ्ना चेलीबेटीहरुलाई पनि उपहार दिन्छन् ।
यसलाई थारु भाषामा अग्रासन कहर्ना भनिन्छ त्यस पछि देउतालाई पानी चढाउने गरिन्छ । यसलाई पानी पछर्ना भनिन्छ । यी सबै कर्म गरिसके पछि घरका सबै सदस्यहरु एकै ठाउँमा बसेर खाने चलन आज पनि प्रचलनमा छ ।
अट्वारीको दोस्रो दिनलाई फहार भनिन्छ । व्रत बस्ने पुरुषहरु बिहानै उठेर नजिकको नदि वा खोलामा गएर नुहाउँछन् ।
नुहाइसकेपछि घरको बैठक कोठालाई लिपपोत गरि ३ देखि ७ थरीको तरकारी पकाउँछन् । तरकारी व्रत बसेका सबैले फहार गरि सकेपछि घरका सबै जनासँगै बसेर भात खान्छन् ।
अट्वारीको बेलुकी पख चेलीबेटीका लागि राखिएको अग्रासनको रोटी र सोमबार बिहान गरिएको फहारको भात तथा तरकारी आफ्ना बिवाहित चेलीबेटीलाई उपहारको रूपमा दिने चलन छ ।
(नोटः वेस संस्थामा कार्यरत मान बहादुर चौधरीसँग गरेको कुराकानीको आधारमा तयार पारिएको समाचार ।)
तपाईको प्रतिक्रिया