जलेश्वर, २० भाद्र । महोत्तरी जिल्लाको औरहीमा एक ७ महिनाकी बालिकालाई गरिएको हत्याको निन्दा गर्दै बुधबार सदरमुकाम जलेश्वरमा अधिकारकर्मीले मौन जुलुस प्रदर्शन गरेका छन् ।
सदरमुकाम जलेश्वरमा महिला सञ्जालसहित विभिन्न संघसंस्थाहरुको आयोजनामा मौन जुलुस प्रदर्शन गरिएको हो । शिक्षा समन्वय ईकाईको कार्यालयबाट शुरु भएको सो मौनजुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै प्रसिद्ध जलेश्वरनाथ महादेव पुगेर श्रद्धाञ्जलीसहित सम्पन्न भएको थियो ।
म्हिला सञ्जालका अध्यक्ष रेखा झाले ७ महिने बालिकालाई अपहरण गरिएको घटनाको जति निन्दा गरेपनि कम हुने बताउँदै १० दिन भइसक्दा पनि अपराधी पक्राउ नपरेकोले दवाव स्वरुप मौन जुलुस प्रदर्शन गरिएको बताइन् । उनले जति चाँडो हुन्छ त्यत्ति चाँडै अपराधीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने माग समेत गरिन् ।
सञ्जालले मंगलबार साँझ जलेश्वरमा मैनवत्ति बालेर श्रद्धाञ्जली समेत अर्पण गरेको थियो ।
भदौ १० गते आइतबार साँझदेखि हराएकी औरही नगरपालिका वडा नं. १ मा सिद्धान्त फैन्सी पसल सञ्चालन गर्दै आएका सन्तोष चौधरीको ७ महिनाकी छोरी सोनालीका चौधरीको शव सोमबार दिउँसो मृत अवस्थामा औरही नगरपालिका वडा नं. ८ मा रहेको फेकु चौधरीको आँपको वगैचामा विभत्स अवस्थामा फेला परेको थियो । नग्न अवस्थामा भेटिएको शवको शरिर भरी निलडाम भेटिएको तथा नाकबाट रगत समेत बगिरहेको अवस्थामा भेटिएको थियो ।
आइतबार साँझ पसलमा आमासंग रहेकी ९ वर्षिय छोरीलाई पसलमा लगाइएको सिसिटिभीबाट भंगहा सितापुर वडानं. ६ जमुनियाका २५ वर्षिय भरत साहले खेलाउँदा खेलाउँदै लिएर गएको देखिन्छ । केही छिनपछि छोरीलाई नदेख्दा खोजविन गरिएको र प्रहरीलाई पनि खबर गरिएको थियो ।
औरही घटनालाई लिएर संघर्ष समितिले औरहीसहित अन्य बजारहरु समेत बन्द गर्दै अपराधी समात्न दवाव सृजना गरेको थियो । बन्दको तिनदिनपछि बसेको सर्वदलिय बैठकले अपराधी समात्ने २० गतेसम्मको अल्टिमेटम दिदै बन्दसहितको अन्य कार्यक्रम फिर्ता लिएको थियो र त्यो समय वित्नलाग्दा समेत अपराधी पक्राउ नपरेको बताउँदै अधिकारकर्मीहरुले दवाव सृजना गर्दै गएका छन् ।
मानवअधिकार आयोगले समेत सो घटनाको स्थलगत अनुगमन गरिसकेको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले अपराधी समात्न आफुहरुले पुरै जनशक्ति लगाएको बताए । उनले भने, ‘हामी अनुसन्धानको क्रममा छौं, अहिलेसम्म अपराधी नियन्त्रणमा आएको छैन् ।’
महोत्तरीसहित जनकपुरको समेत सम्पूर्ण जनशक्ति परिचालन गरेर अपराधीको खोजविन भइरहेको बताउँदै प्रहरी उपरिक्षक कार्कीले चाँडै नै अपराधी समात्ने बताए ।
तपाईको प्रतिक्रिया