टीकापुर घटनाका साक्षीसँग बकपत्र लिइँदै

समाचार

9/16/2018

धनगढी, २४ भाद्र । झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरूको कैलाली जिल्ला अदालतमा बकपत्र लिने काम शुरु भएको छ । आइतबार तीन जना साक्षीको बकपत्र लिइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

यो मुद्दामा ८२ जनासँग बकपत्र लिनुपर्ने र बिदाको दिनबाहेक मुद्दाको विषयमा निरन्तर काम अघि बढ्न लागेको कठायतले बताए । यसअघि पहिलो पटक गएको साउन ३० गते तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश अदालतले दिएको थियो ।

कैलाली जिल्ला अदालतका न्यायधीश पर्शुराम भट्टराईको इजलासमा टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको हो । अदालतमा उक्त मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएपछि सर्वसाधारणको चासोसमेत बढेको छ ।

टीकापुरमा भएको घटनासँग सम्बन्धित मुद्दा सरकारवादी फौजदारी हो । यही भदौ ७ गते टीकापुर घटना भएको तीन वर्ष पुगेर चौथो वर्ष लागेको छ ।

घटनाका अभियुक्तमध्य २३ जना पुर्पक्षका लागि कैलाली कारागारमा रहेकोमा एक जना(रेशमलाल चौधरी) केन्द्रीय कारागारमा रहेका छन् । अभियुक्तका आश्रित दुई बालकलाई पोखराको बाल सुधार गृहमा राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ