नेपाल–भारत खुल्ला सिमाना सम्वाद समूहको पहिलो बृहत अन्तरक्रिया

समाचार

9/16/2018

जनकपुरधाम, २६ भाद्र । नेपाल–भारत खुल्ला सिमाना सम्वाद समूहको पहिलो बृहत अन्तरक्रिया कार्यक्रम प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा विभिन्न राजनीतिक दलका नेता, वुद्धिजिबी, नागरिक समाजका आगुवा लगायत मिडियाका प्रतिनिधिहरुबीच उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश सरकारका आन्तरिक मामिला एवम कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव थिए भने कार्यक्रमको अध्यक्षता राजपा नेपालका महासचिव तथा नेपाल–भारत खुल्ला सिमाना सम्वाद समूहका संयोजक राजीव कुमार झाले गरेका थिए ।

मित्र राष्ट्र भारत र नेपालबीचको सम्बन्ध थप बलियो बनाउन पौराणिककालदेखि खुल्ला रहिरहेको नेपाल–भारत सीमा क्षेत्रमा आउने समयमा पनि खुल्ला राख्नु पर्ने विचार संस्थाका सल्लाहकार एवम नेपाल सरकार का भूतपूर्व प्रशासक जिवच मिश्रले राखेका थिए ।

कार्यक्रममा आफ्नो विचार राख्दै नेकपाका नेता र पूर्व सांसद शितल झाले नाका व्यवस्थित बनाउनु पर्ने र त्यसको विकल्प नरहेको बताए । नाकाबाट भइरहेको विभिन्न गैरकानुनी गतिविधि न्यूनीकरण गर्न सरकार सचेत नरहेको हुँदा आउने समयमा सरकार थप समवेदनशील रहनु पर्ने भनाइ जनकपुर जेसिजका अध्यक्ष जितेन्द्र महासेठले राखेका थिए ।

कार्यक्रममा बोल्दै राजपाका प्रभावशाली युवा नेता राजेश चौधरीले नेपाल–भारत सम्बन्ध सुधार गर्न निमित्त नवगठित संस्थाले थप बल पुर्याउने जिकिर गरे ।

कार्यक्रमको महत्व तत्कालिन अवस्थादेखि नै प्रभावकारी रहने र हाल नेपाल–भारत विच वार्ता गर्न गठन भएको प्रबुद्ध व्यक्ति समूहले ल्याएका विभिन्न प्रस्ताव दुबै देशका नागरिकले स्वीकार नगर्ने भनाइ संस्थाका संयोजक राजिव झाले मिडिया कर्मी लगायत उपस्थित समूहलाई जानकारी गराए ।

नाका बन्द भए दुई मुलुकका करोडौं जनता रुष्ट हुने र आउने समयमा नेपाल–भारत बीचको सम्बन्ध सामाजिक र धार्मिक रुपमा कमजोर हुने बुझाइ संयोजक झाको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ