नेपाल–भारत सुरक्षा मामलाको पुस्तक विमोचन

समाचार

9/28/2018

काठमाडौं, १२ असोज । नेपाल–भारत सम्बन्ध, प्रतिरक्षा र सुरक्षा मामलाको पुस्तक सार्वजनिक भएको छ । मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले पुस्तक विमोचन गरेका हुन् ।

नीति अनुसन्धान प्रतिष्ठान नेपालले गत वर्ष भारत उत्तराखण्डको देहरादूनमा नेपाल र भारतका सुरक्षा मामलाका जानकारहरुलाई भेला गरी आयोजना गरेको दुई दिने गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्र र प्रवचन समेटिएको पुस्तकको सम्पादन डा. दीपककुमार अधिकारी र डा. टीकाराम पौडेलले गरेका हुन् ।

पुस्तकमा पूर्व प्रधानसेनापति गौरव शमशेर राणा, नेपाल प्रहरीका पूर्व आइजीपी ध्रुवबहादुर प्रधान, सशस्त्र प्रहरीका पूर्व आइजीपी किशोर लामा, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, नेपालका लागि भारतका पूर्व राजदूत रञ्जीत रे, सुरक्षाविद् जनरल अशोक मेहतालगायतको अनुसन्धानमूलक लेख तथा प्रवचन समावेश गरिएको छ । पुस्तकले नेपाल–भारतबीच विद्यमान सुरक्षा मामलामा सम्बन्ध र समस्यालाई उजागर गर्दै सुझाव समेत प्रस्तुत गरिएको छ ।

पुस्तक विमोचन कार्यक्रममा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. अजयकुमार, पूर्व प्रधानसेनापतिहरु, पूर्व आइजीपीहरुका अलावा सुरक्षा मामलाका जानकारहरुको उपस्थिति थियो ।

पुस्तक विमोचन समाहरोहमा बोल्दै पूर्व मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सुरक्षा र सम्बन्ध विश्वासका आधारमा मजबुत हुने भन्दै दुई देशबीचको आपसी सम्बन्ध सुमधुर बनाउन विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताए ।

नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. अजयकुमारले पुस्तकले सुरक्षा नीति बनाउन सुझाव दिएकोमा खुशी व्यक्त गरे । दुई देशबीच सुरक्षा सम्बन्धी नीति बनाउन पुस्तक सहयोगी बन्ने विश्वास व्यक्त गर्दै सुझावलाई समेटेर जानुपर्ने बताए । कतिपय विषयमा गलत व्याख्या हुँदा समस्या आउने गरेकोतर्फ सबै सचेत र सजग हुनुपर्नेमा उनको जोड थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ