काठमाडौं, २४ भाद्र । नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्ती गरेकी छन् । गौरवमय इतिहास बोकेको नेपाली सेनाको ४३औं प्रधानसेनापति बन्न सफल भएका प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको सपथ समेत गराएकी छन् ।
भाद्र ०३ गते बसेको मन्त्रिपरिषद् बैठकले कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापालाई महारथीमा बढुवा गरी प्रधानसेनापतिमा नियुक्ती गर्न गरेको सिफारिस बमोजिम नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा २६७ को उपधारा (५) बमोजिम आइतबार थापालाई महारथिको दज्र्यानि चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्ती गरेकी हुन् ।
सैनिक परम्परा अनुसार नवनियुक्त प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरे पश्चात उहाँले आफ्नो कार्यकक्षमा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हालेका छन् । कार्यालय बहाली पश्चात प्रधानसेनापति थापाले पि.एस.ओज वैठक कक्षमा रथीबृन्दहरुसँग भेटघाटसमेत गरेका छन् ।
मिति २०१७ भाद्र २५ गते लम्जुङ जिल्लामा जन्मेका प्रधानसेनापति थापा २०३७ मंसिर २७ गते सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गरेका थिए । शान्ति स्थापना कार्यमा सिरियास्थित संयुक्त राष्ट्रसंघको अनडफ मिसन प्रमुख तथा फोर्स कमाण्डर जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका प्रधानसेनापति थापाले स्वदेशमा पनि गुल्म, गण, बाहिनी, पृतना जस्ता नेपाली सेनाका महत्वपूर्ण जिम्मेवारीहरुको सफलतापूर्वक कमाण्ड गरिसकेका छन् ।
शितलनिवासमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृहमन्त्री, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया