काठमाडौं, २२ भाद्र । भाद्र २४ गतेबाट अवकाश प्राप्त गर्न लागेका प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई टुँडीखेलस्थित सैनिक मञ्चमा उच्च सम्मान स्वरुप ईज्जत अर्पण कवाज प्रदान गरिनुका साथै जंगी अड्डामा आयोजित विशेष समारोहका साथ बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाको लागि सदा समर्पित भई करिब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको उच्च एवं गरिमामय ओहदाबाट प्रधानसेनापति क्षत्रीले मिति २०७५ भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्नु हुनु हुने हुँदा नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति क्षत्रीलाई बिदाई गर्न शुक्रबार यस विशेष समारोहकोे आयोजना गरिएको थियो ।
कार्यक्रमको आरम्भमा प्रधानसेनापति क्षत्रीको सम्मानमा टुँडीखेलस्थित सैनिक मञ्चमा ईज्जत अर्पण कवाज प्रदान पश्चात जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति क्षत्री र कायम मुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले आआप्mनो मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा प्रधानसेनापति क्षत्री तथा कायम मुकायम प्रधानसेनापति थापाले सम्झना स्वरुप उपहार आदान प्रदान समेत गरेका थिए । कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापालाई मिति २०७५ भाद्र २४ गते नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन, शितलनिवासमा महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिको गरिमामय पदमा नियुक्ति गरिनेछ ।
कार्यक्रमको अन्त्यमा कायम मुकायम प्रधानसेनापति, पूर्व प्रधानसेनापतिहरु, सुरक्षा निकायका प्रमुखहरु, पि.एस.ओज रथीबृन्द लगायत अन्य रथीबृन्द तथा अधिकृतहरुले प्रधानसेनापति क्षत्रीलाई सम्मानपूर्वक बिदाई गरेका थिए । साथै उक्त बिदाई कार्यक्रममा आमन्त्रित बिशेष पाहुनावर्ग, परिवारजनहरुको साथै उल्लेख्य संख्यामा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया