काठमाडौं, २५ भाद्र । उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको बर्दियामा एक कार्यक्रममा सहभागी हुँदा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरु रिहा भएका छन् ।
सोमबार जिल्ला अदालत बर्दियाले पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका नेताहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
गत भाद्र ७ गते उपेन्द्र यादवको कार्यक्रमबाट गठबन्धनका राम मनोहर यादव, इरफान शेष, राजितराम वर्मा र हरपाल सिंहलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये हिरासतभित्रै राम मनोहर यादवको मृत्यु भइसकेको छ । प्रहरी हिरासतमा रहेकै बेला भाद्र १५ गते राम मनोहर यादवको उपचारको क्रममा मृत्यु भएको थियो ।
पक्राउ परेकाहरुमाथि प्रहरीले राज्यविरुद्धको अपराध मुद्दा लगाएको थियो । यो मुद्दामा गठबन्धनका ती नेताहरुलाई अदालतले पहिला पनि सफाइ दिइसकेको छ । अदालतले एउटै मुद्दामा पटकपटक पक्राउ नगर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ ।
स्वतन्त्र मधेश गठबन्धन बाँकेले न्यायका लागि बहस गरेको भन्दै अधिवक्ताहरु रामकुमार दीक्षित, विश्वजीत तिवारी, राजेन्द्र कुमार विश्वकर्मा, राकेश कुमार सोनी, काशीराम चौधरी र कमल प्रसाद गुप्तालाई धन्यवाद ज्ञापन गरेको छ ।
तपाईको प्रतिक्रिया