एमालेले रौतहटलाई संकटग्रस्त जिल्ला घोषणाको लागि प्रधानमन्त्रीलाई बुझाए ज्ञापन

समाचार

राकेश यादव, रौतहट । नेकपा एमाले जिल्ला कार्य समिति रौतहटले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

असोज १२ गते आएका भीषण बाढीले रौतहट जिल्लामा व्यापक रुपमा भौतिक तथा बालीनालीमा क्षति पुर्याउँदा पनि नेपाल सरकारले जिल्लालाई अति बाढी प्रभावित जिल्ला घोषणा नगरेको प्रति गुनासो पोख्दै संकटग्रस्त जिल्ला घोषणा गर्नु पर्ने दबाब सृजना गर्ने उद्देश्यले नेकपा एमालेले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

नेपाल सरकारले १४ जिल्लालाई बाढी पहिरोग्रस्त जिल्ला घोषणा गर्दा मधेश प्रदेशको रौतहट जिल्लालाई समावेश नगर्दा सरकारको रबैयाप्रति जिल्लाका राजनीतिक दलले आक्रोशित भई रौतहटलाई पनि संकटग्रस्त जिल्ला घोषणा गरी बाढीपीडितलाई क्षतिपूर्ति उपलबध गराउनु पर्ने माग गरेको छ ।

नेकपा एमाले रौतहटका जिल्ला इन्चार्ज अजय कुमार गुप्ताको नेतृत्वमा गएका पार्टीका नेता कार्यकर्त्ताहरुले प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा रौतहट जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्नुपर्ने, रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सलाई अबिलम्ब सञ्चालन गराउनु पर्ने, बाराको परमानीपुरमा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना कार्यालय रौतहटको गौरमा स्थापना गर्नु पर्ने लगायतको माग उल्लेख गरिएको जिल्ला इन्चार्ज गुप्ताले बताए ।

उनले विपदको बेला पनि रौतहटसँग गरिएको विभेदको अन्त्य गरी जिल्लालाई सरकारले अविलम्ब अति बाढी प्रभावित जिल्ला घोषणा गर्नुपर्ने बताए ।

ज्ञापनपत्र बुझाउने क्रममा जिल्ला अध्यक्ष सचितानन्द साह, पूर्वसांसद रेखा झा, प्रदेशसभा सदस्य राजकिशोर यादव, एमाले नगर अध्यक्ष भैरव पटेल, पूर्ववडा अध्यक्ष श्याम सुन्दर पटेल, युवा संघका ओम प्रकाश साह सहितका दर्जनौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ