काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गरेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएनन् ।
प्रधानमन्त्री ओली र सांसदहरुबीच प्रश्नोत्तरमा साहको प्रश्नको जवाफ दिनुभन्दा पनि प्रधानमन्त्री ओली आक्रोशित भए र ती प्रश्नहरुको जवाफ दिन उचित नरहेको जवाफ दिए ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीच प्रश्नोत्तरको कार्यसूची थियो । यो नियमित कार्यसूची हो । वर्णानुक्रमानुसार नाम परेका सांसदहरूले अगाडि नै प्रश्न पठाउँछन् । प्रधानमन्त्रीले उत्तरको तयारी गरेर आउँछन् ।
आइतबार को बैठकमा प्रधानमन्त्री ओलीले १० जना सांसदहरूको प्रश्नको जबाफ दिने कार्यसूची थियो ।
प्रभु साहले गरेका प्रश्नहरु यस्ता छन्ः
१. नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिनेहरूको संख्या कति छ? उनीहरूको पैतृक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ? ती अवैध सम्पत्तिहरूलाई राज्यको स्वामित्वमा ल्याउन तपाईंले के–के गर्नुभयो ? खुलेआम हुण्डीबाट ती अवैध सम्पत्तिहरू विदेश लैजाँदा रोक्न नसकने तपाईंलाई हामी सक्षम भन्ने कि असक्षम? प्रधानमन्त्रीज्यू! ति अवैध सम्पत्तिलाई अब स्वदेश फिर्ता ल्याउने तपाईंको योजना के छ ?
२. झण्डै ७० लाख भन्दा बढी नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन्। उनीहरूको श्रम–सम्झौताअनुसार प्रत्येक वर्ष झण्डै ४० खर्ब भन्दा बढी रेमिट्यान्स नेपाल आउनु पर्ने हो ? तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३–१४ खर्ब मात्र आउने सम्भावना छ। मेरो प्रश्न छ, हाम्रा नेपाली युवाले विदेशमा खुन–पसिना बगाएर कमाएको पैसा हुण्डीमार्फत् खुलेआम कालो धनसँग मिलान भइराख्दा तपाईं किन मौन बस्नु भयो ? नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालाधन साट्नलाई विदेशमा मरिरहेका छन् ? हैन भने संख्याको अनुपातमा ती रेमिट्यान्स किन नेपाल आएन ?
३. वैदेशिक रोजगारमा जाने नेपाली मजदुरहरूले विदेशमा आफनो ट्रेड युनियनको हक पाएका छैनन् । किन ट्रेड युनियनको हक न पाउने गरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २१ औं शताब्दीमा नेपाली मजदुरलाई दासताको नारकीय जीवनमा धकेल्दा तपाईंहरूले के कति लाभ पाउनु भएको हो ?
४. नेपालमा जिडिपी र राजस्वको अनुपात हेर्दा सरकारले जिडिपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ । ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढी राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको देखिन्छ, जो जिडिपी ३० प्रतिशत हुन आउँछ। यसलाई कर आतंक नभन्ने त के भन्ने प्रधानमन्त्रीज्यू? के यस्तै कर प्रणालीले हाम्रो अर्थतन्त्र सुधार हुन्छ ? हुँदैन भने, यो कर आतंकलाई रोक्ने योजना के छ ?
५. तपाईंले सार्वजनिक रूपमा भारत भ्रमण जाँदैछु भन्नुभएको थियो । त्यो जाँदैछु भनेको कहिले हो ? निम्तो नै नआई किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन ?
६. यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो । तर आफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहुमत समेत नहुँदा अहिले बिचल्लीमा परेको जस्तो अनुभूति हुँदैन ? सत्ता सहयात्रामा रहेका दलले नै अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेपछि अब तपाईं कुन नैतिकताले पदमा बस्नुहुन्छ ?
७. संघीय राजधानी जोड्ने सबै राजमार्गहरु अस्तव्यस्त छन् । तर प्रधानमन्त्रीजीले चारैतिर विकासको चकाचौध मात्र देख्नु हुन्छ । यदी त्यसो हो भने, ती राजमार्गहरुमा तपाई आफै किन यात्रा गर्नुहुन्न ? त्यहाँ, लगातार भइरहेको घटना दुर्घटनाको जिम्मा कसले लिने ?
८. आवासविहीनहरूलाई घर बनाउन ’सुरक्षित आवास’ भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिव दलितहरूसँग मजाक गर्नुभयो? प्रधानमन्त्री जी यसको जवाफ दिनूस् । धन्यवाद !
तपाईको प्रतिक्रिया