राकेश यादव, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले शान्ति सुरक्षाको विषयमा गम्भीर भएर कार्य गर्ने बताएका छन् । उनले व्यावसायिक प्रहरी सेवाको अनुभूति गराउने समेत दावी गरेका हुन् ।
प्रहरी उपरीक्षक रबिन कार्कीको सरुवा पछि जिम्मेवारी सम्भालेका प्रहरी उपरीक्षक रिजालले बुधबार जिल्ला प्रहरी कार्यालयमा परिचयात्मक तथा भेटघाट कार्यक्रम आयोजना गरि रौतहट जिल्ला खुला सीमानाकासँग जोडिएको जिल्ला रहेकोले सुरक्षा चुनौती बढी भएको बताए ।
नेपाल प्रहरी नेपाली नागरिक संघ प्रत्यक्ष सरोकार राख्ने भएकोले शान्ति सुरक्षा कायम गर्ने सवालमा सहकार्य र समन्वय आवश्यक रहेको जोड दिए । प्रहरी उपरीक्षक रिजालले निर्वाचनको समय भएकोले सुरक्षाको जोखिम बढी भएको भन्दै सतर्कता अपनाउदै आम नागरिकको सुरक्षा कायम गर्ने कार्यलाइ निरन्तरता दिने जनाए ।
चुनावमा विभिन्न किसिमका बादविवाद उत्पन्न हुनुको साथ अपराधिक गतिविधि हुनसक्ने भएकोले सूक्ष्म रुपमा अवलोकन अनुगमन गर्दै निस्पक्ष र भयरहित बातावरण बनाउनेतर्फ ध्यान केन्द्रित रहेको उल्लेख गरे ।
खुला सीमानाका भएको कारण निर्वाचनमा अपराधिक गतिविधि बढ्न सक्ने आशंका प्रहरीको रहेको छ । निर्वाचनको समयमा आम नागरिक, उम्मेदवार, संचारकर्मीसमेतलाइ सुरक्षाको थ्रेट रहेको विश्लेषण गर्दै संवेदनशील विषयमा जिल्लाको सुरक्षा निकाय पूर्णरुपमा गम्भीर भएको बताए ।
संचारकर्मीहरुले उठाएका शान्ति सुरक्षा, मुद्दा दर्ता, अवैध मदिरा बिक्री वितरण उत्पादन, ट्राफिक व्यवस्थापनका विषयमा सम्वोधन गर्दै प्रहरी उपरीक्षक रिजालले जनताको भावनाविपरीत कानून बाहेक कुनै कार्य नगर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘निस्पक्ष रुपमा न्याय सम्पादनको कार्य गर्ने छौं ।’
प्रहरीले संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएर भय रहित बातावरणमा मतदान गराउने प्रतिबद्धता व्यक्त गरे ।
जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण, अश्लील भोजपुरी गीत, चर्को आवाजमा बजाउने डिजे साउण्ड माथि प्रतिबन्ध लगाउने प्रयास समेत गर्ने जनाए ।
तपाईको प्रतिक्रिया