रौतहटमा रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु

समाचार

राकेश यादव, रौतहट । जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोलमा बिहीबार कारको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर अवस्थामा घाइते भएकी बालिकाको उपचारको लागि ल्याउदै गर्दा बाटोमै निधन भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवार भएका रौतहट क्षेत्र नंम्बर २ का उम्मेदवार शेख सगीरको प्रचार प्रसारमा गएको गाडीले ठक्कर दिदा स्थानीय मोहम्मद सगीरको ४ वर्षीय अल्फा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चुनावी प्रचार प्रसारअन्तर्गत मतदातासँग भेटघाटको क्रममा मठिया पुगेका बा १५ च ४२४४ नम्बरको कारबाट दुर्घटना भएको हो । मस्जिद नजिकै गाडी पुग्ने बितिकै अचानक बालिका दौडेर आउँदा कारको चपेटा आएको उम्मेदवार शेख सगीरले जनाएका छन् ।

घटनामा परि गम्भीर रुपमा घाइते भएकी बालिकालाई सोही गाडीमा राखेर उपचारको लागि गौरस्थित सिटि होस्पिटलमा पुग्दा चिकित्सकले प्रादेशिक अस्पताल गौरमा लग्न सुझाव दिएको बुझिएको छ । प्रादेशिक अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

घटनाबारे जानकारी हुँदा अस्पतालमा पुगेका प्रहरीको टोली गाडी सहित चालक स्थानीय परोहा नगरपालिका ३ तेजापाकड़ निवासी २७ वर्षीय शेख मुस्ताकलाइ नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन् ।

रास्वपाका उम्मेदवार शेख सगीरले दुर्घटनामा परि मृत्यु भएकी बालिका प्रति समबेदना प्रकट गर्दै गाडीमा आफु सवार नरहेको दावी गरेका छन् । सामाजिक संजालमा लेख्दै सगीरले चालकले एक्लै गाडी लिएर गैरहेको अवस्थामा बालिका एक्कासी दौडेर आउँदा दुर्घटना भएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ