महोत्तरी । जनता समाजवादी पार्टी नेपालको तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.मिनाक्षी ठाकुर दलान छलफल कार्यक्रममा व्यस्त भएकी छन् ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.ठाकुरले महोत्तरी ३ का प्रत्येक वडा–वडामा पुग्ने लक्ष्यसहित दलान कार्यक्रम गरिरहेकी छन् । उनले मतदाताका बीच गई त्यहाँका अवस्था र समस्या समाधानका लागि आफ्नो प्रतिबद्धताबारे स्पष्ट मार्गचित्र प्रस्तुत गरिरहेकी हुन् ।
बिहीबार डा.ठाकुरले जलेश्वर नगरपालिका वडा नं. ८ अन्तर्गत रमौल र वडा नं. १२ थरुआहीमा दलान छलफल कार्यक्रम गरेकी हुन् ।
दलान कार्यक्रममा उनले भनेकी छन्, ‘म एउटा चिकित्सक हुँ । म यहाँ कुनै उम्मेदवार बनेर आएकी होइन, म तपाइँहरु माझ तपाइँहरुको छोरी र बहिनी बनेर आएकी हुँ । तपाइँहरुकै विश्वास र भरोसामा आएको हुँ ।’
उनले आफू उम्मेदवारको रुपमा नभई छोरी र बहिनीको रुपमा आएको बताउँदै भनिन्, ‘मधेशको भूमि बलिदान र संघर्षको भूमि हो । मधेशको आधा शक्ति महिलाहरु हुन् । त्यसैले अहिले समय आइसकेको छ कि महिला केवल गृहिणी, सहनशीलता मात्र नभई हरेक क्षेत्रमा महिला सक्षम छन् भनेर प्रमाणित गर्ने अवसर हो । सबै मिलेर एक पटक यो छोरीलाई मौका दिनुस्, आफ्नो हक, अधिकार र सम्मानको सुरक्षा गर्नुस् ।’
उनले छाता छापमा मतदान गरी आफ्नो हक अधिकार र सम्मानको सुनिश्चित गर्न आग्रह गरेकी हुन् ।
दलान छलफल कार्यक्रममा जसपा नेपालका युवा नेता सुशील राउत, मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, युवा नेता प्रदीप पाठक लगायतको सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया