काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
“स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान” नारासहित रामुपाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री महतोले केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरि चुनावी घोषणापत्र–२०८२ सार्वजनिक गरेका हुन् ।
घोषणापत्रको प्रस्तावनामा भनिएको छ, ‘नेपालको इतिहासमा पहिलोपटक स्वदेशवादी दर्शनमा आधारित, बहुल राष्ट्रिय लोकतन्त्रको पक्षधर र सबै उत्पीडित समुदायको मुक्तिका लागि प्रतिबद्ध राष्ट्रिय मुक्ति पार्टी नेपाल चुनावी मैदानमा उत्रिएको छ । हामी विश्वास गर्छौं कि नेपालको वास्तविक समृद्धि र शान्ति बहुल पहिचानको सम्मान, स्वशासन र सामुदायिक समाजको निर्माणबाट मात्र सम्भव छ ।’
‘यो घोषणापत्र केवल चुनावी प्रतिश्रुति होइन, यो नेपाल र नेपाली जनताको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मुक्तिको दस्तावेज हो,’ चुनावी घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष महतो, वरिष्ठ उपाध्यक्ष कमला गुरुङ, महासचिवद्वय केशव झा, अनिल महासेठ, सचिव शेर बहादुर शाह, नेताहरु बलराम वाग्ले, शिवेस बज्राचार्य, अनुप बुढामगर, इन्द्र श्रेष्ठ, गमन फडेरा, सुभासिनी श्रेष्ठ, विकास घिमिरे, कृष्ण रावत, इन्दिरा थापा, नर्वदा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया