सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव चुनावी प्रचारप्रसारको सक्रिय अभियानमा लागेका छन्। निर्वाचन आयोगले तोकेको समय अनुसार सोमबारदेखि उनि सक्रिय ढंगले क्षेत्रको प्रचार अभियानमा जुटेका छन्।
सप्तरी क्षेत्र न. ३ का उम्मेदवार समेत रहेका अध्यक्ष यादव आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रचारप्रसारका क्रममा औपचारिक रुपमा घरदैलो अभियान थालेका हुन् ।
प्रतिनिधि सभाको सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट उनी उम्मेदवार हुन् । विकास निर्माणको दृष्टिकोणले जिल्लाकै पछाडि परेको उक्त क्षेत्रको डाक्नेश्वरी नगरपालिकाबाट उनले घरदैलो अभियान थालेका छन् ।
पार्टीका केन्द्रीय सचिव एवम् क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहका अनुसार वडा नम्बर ७ कोे मझौरा, ब्रहम्पुर, सिंगिया, वडा नम्बर १ को कबिलासा, मधुबनी लगायतका गाउँहरूमा जसपा नेपालका अध्यक्ष यादवले घरदैलो गरेका छन् ।
घरदैलोका क्रममा उनले आममतदाताहरुसँग भेंटघाट गर्दै संविधान संशाधन गरी बाँकी अधिकार प्राप्ति र विकासका लागि आफुसहित पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा केन्द्रीय नेता एवम् पूर्व मन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभाका पूर्व सदस्य बिदेश्वर प्रसाद यादव (बिक्की), राजेश्वर राय लगायतका नेताहरु सहभागी छन् ।
सप्तरी क्षेत्र नम्बर ३ मा विष्णुपुर, रुपनी, राजगढ गाउँपालिका र शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका गरी कुल एक लाख ११ हजार ८ सय ७१ मतदाता रहेका छन् ।
तपाईको प्रतिक्रिया