काठमाडौं । जनता समाजवादी पार्टी नेपालले वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको सुरक्षित रोजगारीको व्यवस्था गरिने नीति ल्याएको छ ।
जसपा नेपालले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा बैदेशिक रोजगारमा जाने श्रमिकहरूको लागि निःशुल्क (फ्रि भिसा र फ्रि टिकट) रोजगारी प्रदान गर्ने नीति लागू गरिने प्रतिबद्धता जनाएको हो ।
यसैगरी, बैदेशिक रोजगारीमा गएका नागरिकहरूको सुरक्षाको प्रत्याभूति गरिने भनिएको छ । बैदेशिक रोजगारीबाट फर्केका नागरिकहरूको लागि वैदेशिक रोजगारमा हुँदा सिकेको सीपको आधारमा स्वदेशमै रोजगारीको प्रवन्ध गरिने नीति लिइनेछ ।
‘वैदेशिक रोजगारी रहर नभई बाध्यता हो । तसर्थ आन्तरिक रोजगारी प्रवद्र्धन गर्नु राज्यको मूल दायित्त्व हो भन्ने जसपा, नेपालको मान्यता रहँदै आएको छ ।’ जसपा नेपालको घोषणापत्रमा भनिएको छ ।
आन्तरिक रोजगारीको प्रत्याभूति नहुञ्जेलसम्म वैदेशिक रोजगारीमा जाने नागरिकहरूको लागि सीप विकास, प्रशिक्षण तथा रोजगारीमा जाँदा आवश्यक पर्ने लागत खर्चको उचित व्यवस्थापन रोजगारदाताबाट ग्यारेन्टी गरिनुपर्ने जनाएको छ ।
साथै विदेशबाट प्राप्त रेमिट्यान्स रकम पनि औपचारिक बैंकिङ्ग प्रणालीबाट भित्र्याउनुपर्दछ । प्राप्त रेमिट्यान्स रकम मध्येबाट महत्त्वपूर्ण अंश श्रमिकको विकास तथा संरक्षणमा खर्च गरिनुपर्दछ ।
तपाईको प्रतिक्रिया