महोत्तरीमा निर्वाचन : समस्यामा कर्मचारी

समाचार

महोत्तरी । महोत्तरी जिल्लामा अधिकृत छैठौंलाई सहायक मतदान अधिकृत तथा नायब सुब्बा(नासु)लाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनता आधारभूत प्रावि भ्रमरपुरा(ग) तथा राजदेव जमावि भ्रमरपुरा(क) मतदान केन्द्रमा अधिकृत छैठौंलाई सहायक मतदान अधिकृत तोकिएको हो। अर्कोतर्फ निर्वाचन क्षेत्र नम्बर ३ मा नायब सुब्बा(नासु)हरूलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

जलेश्वर नगरपालिका–४ स्थित सुखदेव माध्यमिक विद्यालय सुगा भवानीपट्टी, मटिहानी नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालय (ख), मटिहानी नगरपालिका–८ स्थित राम माध्यमिक विद्यालय (ख), मनरासिस्वा नगरपालिका–१० स्थित राष्ट्रिय जनता आधारभूत विद्यालय मरुवाही, पिपरा गाउँपालिका–७ स्थित माध्यमिक विद्यालय बनौली (क), (ख) र (ग) र एकडारा गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय अजमरपट्टीको मतदान केन्द्रमा नासुलाई मतदान अधिकृतको तोकिएको हो ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा जनता मावि कुशमाडीमा समेत अधिकृत छैठौंलाई सहायक मतदान अधिकृत तोकिएको हो। जिल्लामा ५३६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन(जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२ को दफा १०(क) अनुसार गाउँपालिका क्षेत्रभित्रको मतदान केन्द्रमा सामान्यतया राजपत्रांङ्कत तृतीय क्षेणी वा सो सरहको कर्मचारी वा शिक्षक र नगरपालिका क्षेत्रको मतदान केन्द्रमा समान्यतया राजपत्रांङ्कत द्वितीय क्षेणी वा सो सरहको कर्मचारी वा उच्च माध्यमिक वा माध्यमिक शिक्षकलाई मतदान अधिकृतमा खटाउने व्यवस्था छ ।

दफा १०(ख) ले खण्ड क बमोजिम कर्मचारी वा शिक्षक खटाउन नसकिने भएमा सो भन्दा एकतह मुनिको कर्मचारी वा शिक्षकलाई मतदान अधिकृतमा खटाउन सकिने व्यवस्था छ ।

जिल्ला जनशक्ति व्यवस्थापन समन्वय समितिकी सदस्य निर्वाचन अधिकारी रंजिता झाले जिल्लाभर रहेका ५२३० जनशक्तिको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको र त्यहीबाट ३२१६ कर्मचारीहरूलाई जिम्मेवारी तोकिएको बताइन् ।

गाउँपालिका र नगरपालिका क्षेत्रभित्रको केन्द्रहरूमा मतदान अधिकृतमा खटाइएका नासुहरू महोत्तरी जिल्ला अदालतमा कार्यरत छन्।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला जनशक्ति व्यवस्थापन समन्वय समितिमा जिल्ला समन्वय अधिकारी, प्रमुख कोष नियन्त्रक तथा नेपाल प्रहरी प्रमुख सदस्य छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ