महोत्तरी–३ मा चुनावी माहोल तातियो

समाचार

महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाकी उम्मेदवार डा. मिनाक्षी ठाकुरको उम्मेदवारीसँगै क्षेत्रमा चुनावी गतिविधि थप सक्रिय र रोचक बनेको छ ।

शिक्षित, अनुभवी र लामो समयदेखि स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी डा.ठाकुरलाई सक्षम र वैचारिक उम्मेदवारका रूपमा हेरिएको छ ।

डा. ठाकुर पेशाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् र विशेषगरी महिलासम्बन्धी क्यान्सर उपचारमा विशेषज्ञता हासिल गरेकी हुन् । स्वास्थ्य क्षेत्रमा उनले पु¥याएको योगदान र समाजप्रतिको सेवाभावका कारण उनले समाजमा छुट्टै पहिचान बनाउन सफल भएकी छन् । उनको यही पेशागत इमानदारी, अध्ययनशीलता र सेवाभावले उनलाई सक्षम र जिम्मेवार नेतृत्वका रूपमा स्थापित गरेको समर्थकहरूको भनाइ छ ।

राजनीतिक रूपमा पनि उनको यात्रा निरन्तर सक्रिय रहँदै आएको छ । उनी तत्कालीन तराई–मधेश लोकतान्त्रिक पार्टीको तराई–मधेश महिला फ्रन्टको केन्द्रीय सदस्य रहेकी थिइन् । त्यसपछि राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी नेपाल तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा समेत केन्द्रीय तहमा भूमिका निर्वाह गरेकी छिन् । हाल पुनः जनता समाजवादी पार्टी नेपालमा आबद्ध भई समाज र राजनीतिमा सक्रिय योगदान दिँदै आएकी छन् ।

डा.ठाकुर महन्थ ठाकुरकी छोरी हुन् । लोकतन्त्र, संघीयता र मधेशी जनताको अधिकारका लागि महन्थ ठाकुरले गरेको लामो संघर्षको इतिहास सर्वविदित छ । तर युवाहरूको भनाइमा डा. ठाकुरको पहिचान केवल पारिवारिक सम्बन्धमा सीमित नभई उनको आफ्नै शिक्षा, क्षमता, पेशागत सफलता र सामाजिक योगदानमा आधारित रहेको छ ।

विशेषगरी पछिल्लो समय देशभर देखिएको जेन्जी आन्दोलन र नयाँ पुस्ताको चेतनासँग मेल खाने नेतृत्वको रूपमा डा. मिनाक्षी ठाकुरलाई हेरिएको छ । शिक्षित, स्पष्ट सोच राख्ने, पेशागत रूपमा स्थापित र समाजप्रति उत्तरदायी उम्मेदवारको खोजीमा रहेको युवा पुस्ताले उनलाई आफ्नो प्रतिनिधिको रूपमा हेर्न थालेका छन् । युवाहरूको भनाइमा अबको राजनीति पुराना सोच र परम्परागत शैलीबाट माथि उठेर शिक्षित, सक्षम र उत्तरदायी नेतृत्वको हातमा जानुपर्ने आवश्यकता रहेको छ, जसको उदाहरणका रूपमा डा. ठाकुरलाई प्रस्तुत गरिएको छ ।

महोत्तरी–३ मा विशेषगरी युवा, महिला र शिक्षित वर्गबीच उनीप्रति समर्थन बढ्दै गएको स्थानीयहरूले बताएका छन् । उनको उम्मेदवारीले नयाँ पुस्तामा राजनीतिक सहभागिताप्रति आशा र विश्वास थपेको देखिन्छ ।

लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले पनि डा. मिनाक्षी ठाकुर जेन्जी पुस्ताले खोजेको शिक्षित, सक्षम र जिम्मेवार युवा नेतृत्व भएको उल्लेख गर्दै उनको उम्मेदवारीले महोत्तरी–३ मा सकारात्मक परिवर्तनको आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन् ।

महोत्तरी–३ मा यसपटकको निर्वाचन विशेषगरी युवा पुस्ताको सक्रियता र नयाँ सोचको प्रभावका कारण थप रोचक बन्ने देखिएको छ । अब मतदाताले कस्तो निर्णय लिन्छन् भन्ने चासो व्यापक रूपमा बढेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ